-जयराम बिडारी
आश्विन १४,काठमाण्डौ
प्रसिद्ध उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना गरिएको ‘’लीलाध्वज थापा साहित्य प्रतिष्ठान’’द्वारा कथाकार तथा उपन्यासकारका रुपमा सुविख्यात ध्रुव सापकोटालाई सम्मानित गरिने भएको छ ।
कथा संग्रह,उपन्यास तथा कविताका थुप्रै पुस्तक तथा फुटकर लेखहरू तीसको दशकदेखि नै प्रकाशन गर्नुका साथै विभिन्न पत्र पत्रिकाका सम्पादनका क्षेत्रमा समेत क्रियाशील रही नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुर्याए बापत सोको मुल्याङ्कन गर्दै १००००/- (दश हजार) नगद राशि सहित अग्रज साहित्यकार ध्रुव सापकोटालाई ‘’लीलाध्वज थापा स्रष्टा सम्मान’’ले सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । प्रतिष्ठानले मासिक रूपमा नियमित कार्यक्रम गरी हाल सम्म ७७ विभिन्न स्रष्टाहरुलाई सम्मानित गर्दै आएकोमा गत वर्ष देखि त्रैमासिक रूपमा सम्मान/पुरस्कार प्रदान गर्दे आएको छ ।
सो अवसरमा विभिन्न स्रष्टाहरू बाट रचना वाचन समेत हुने जनाइएको छ । सो को अलावा उक्त प्रतिष्ठानले पारिवारिक स्रोतबाटै वार्षिक साहित्य सम्मान तथा पुरस्कार समेत प्रदान गर्दै आएको जानकारी गराएको छ । सो कार्यक्रम यही २०८१ आश्विन १९ गते शनिबार अपरान्ह १२.३० बजे बाल नमुना विद्यालय बालुवाटारमा एक विशेष कार्यक्रमको आयोजना गरी त्रैमासिक रचना वाचन तथा उक्त सम्मान/ पुरस्कार प्रदान गरिने समेत जानकारी गराइएको छ ।





