जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो।
बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए। उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो।
सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ। उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ। उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभाबी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए।





