काठमाडौं, माघ १७ गते । कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द रहेको छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताए । उनका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम हुँदै आएको छ ।
‘त्यसका लागि दैनिक साढे छ हजार तीन सिफ्टमा छपाइको काम हुँदै आएको छ,’ महानिर्देशक घिमिरेले भने,‘अहिले तीन सिफ्टमा काम चलिरहेको छ, विहान ७ देखि अरर्को दिन ७ बजेसम्म काम चल्छ, तर बीचबीचमा खाली हुने हुनाले तीन सिफ्टमा दैनिक साढे छ हजारको हाराहारीमा स्मार्ट कार्ड प्रिन्ट भइरहेको छ ।’
उनका अनुसार प्रिन्ट सकिने वित्तिकै यातायात कार्यालयहरुमा स्मार्ट कार्ड पठाउने गरिएको छ । त्यहाँबाट वितरण हुन्छ । घिमिरेले भने,‘लामो समयदेखि प्रिन्ट भएको थिएन, अहिले प्रिन्ट भएको स्मार्ट कार्ड वितरण गरिदै आएको छ ।’ नयाँ कार्ड आएपछि स्मार्ट लाइसेन्स प्रिन्टको काम शुरु भएको हो । नयाँ कार्ड आएपछि एक लाख कार्ड प्रिन्ट गरिएको छ । करिब चार लाख ५० हजार स्मार्ट लाइसेन्सको प्रिन्ट गर्न बाँकी थियो । ती मध्ये करिब एक लाख प्रिन्ट गरेर वितरणको लागि पठाइ सकिएको छ ।





