कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नाममा नक्कली (पीसीआर) रिपोर्ट बनाउने दुईवटा अस्पतालकाे ल्याबमा प्रहरीले छापा मारेकाे छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं सुविधानगरस्थित तीनकुने कान्तिपुर अस्पतालकाे ल्याब र भक्तपुरस्थित नागरिक अस्पतालकाे ल्याबमा छापा मारेकाे हाे ।
महाशाखाका एसपी कृष्ण काेइरालाका अनुसार उनीहरूले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सूचना पाएपछि जनस्वास्थ्य कार्यालयकाे सहयाेगमा ल्याब सिल गरिएकाे छ । महाशाखाले नक्कली पीसीआर परीक्षणका लागि नागरिक अस्पतालको ल्याबका लागि नाम र फाेटाे संकलन गर्ने बिचौलिया राेशनकुमार छिट्टान र ल्याबका म्यानेजर सर्लाहीका प्रसन्नकुमार झालाई पक्राउ गरेकाे छ ।
कान्तिपुर अस्पतालको ल्याबका सञ्चालक धनुषाका नगेन्द्र यादव पनि पक्राउ परेका छन् । यस्तै काभ्रेका माधव मैनाली पनि पक्राउ परेका छन् ।
नक्कली रिपाेर्ट बनाउने ल्याबहरूले विदेश जाने व्यक्तिलाई टार्गेटमा राखेर माेटाे रकम लिएर नक्कली पीसीआर रिपोर्ट दिने गरेको खुलेको हो ।





