कास्कीका कृषकहरूले आउँदो फागुन एक गतेदेखि दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गर्ने भएका छन्। राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँको दरले बढाउन सिफारिस गरेको भन्दै कास्कीका किसानले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाउने भएका हुन्।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल कास्कीले यो निर्णय गरेको हो। राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार किसानको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्य वृद्धिका कारण दूधको मूल्य समायोजन गर्नुपरेको हो।
दाना, चोकरलगायत पशु आहारमा अत्यधिक मूल्य बढेका कारण सबै किसानलाई व्यवसाय सञ्चालनमा समस्या भएपछि मूल्य बढाउनैपर्ने अवस्था रहेको उनको भनाइ छ।
बाध्यतावश दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गर्नु परेको हो। किसानहरूलाई दुग्ध व्यवसाय सञ्चालन गर्न गाह्रो भइरहेको छ। बिहान–बेलुका दूध बेचेर जीवन निर्वाह गर्ने किसानको लागि सरकार चिन्तित देखिएन, पशुलाई खुवाउने दाना चोकर सबैको मूल्य आकासिएको छ।
पोखरा आसपास क्षेत्रमा २३ हजार लिटर दूध उत्पादन हुने गर्छ। १३ हजार लिटर दूध सहकारीहरूले उत्पादन गर्दै आएका छन्। पोखरामा कपिलवस्तुलगायत जिल्लाहरूबाट दैनिक १० हजार लिटर दूध आयात हुँदै आएको छ। तर पनि अझै दूधको अभाव भइरहेको अध्यक्ष तिमिल्सिना बताउँछन्।





