राम श्रेष्ठ
हरेक वर्ष झैं यसपाली पनि दशैं आयाे
परन्तु पहिले भन्दा याे फरक ढंगले आयाे
घटस्थापना पूर्व सन्ध्यामा झरीले तर्सायाे
बाढीपहिराेले हजारौं मनमा आँसु वर्सायाे
दर्जनौंकाे दशैं यहाँ नख्खुखाेलाले बगायाे
सयाैं परिवारकाे दशैं उर्लंदाे राेशीले बगायाे
झ्याप्ले खाेलाकाे पहिराे आंधी बन्दै आयाे
बसभित्र नै दर्जनौंकाे जीवन खै केले खायाे
काभ्रे , सिन्धुली, धादिङ पूरै शाेकमा डुब्दा
ललितपुर र मकवानपुर अश्रुधारामा बग्दा
दशैं तिमी आउन त आयाै कसरी आयाै है
हजारौं मनमा खुशी हैन पीडा दिई गयाै है
आफन्त बाढीले बगाएपछि के दशैं आयाे र
बस्ने घर पहिराेले ढलाएपछि के दशैं आयाे र
व्यवशाय गर्ने थलाे बगर बन्दा मन थाम्न गाह्राे
सिस्नेरीमा सन्तान गुमाउनेलाई झन कति साह्रो
यस्ताे त्रासदीसंगै यस वर्षको बडा दशैं आयाे
विपदले झनै झनै भूकम्पले झैँ पीडा दिई गयाे
हजाराैं मान्छेका सपना त्याे दर्कने झरीले बगायाे
दशैं त आयाे निधारमा टीका जमरा विना नै गयाे





