मोरङ: कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले २५ जना भन्दाबढीको संख्यामा उपस्थिति नहुन निर्देशन दिएको छ। बिहीबार मध्यरातदेखि अर्को सूचना नहुञ्जेलका लागि प्रशासन कार्यालयले २५ जना भन्दा बढी हुने भोजभतेर, मेला, महोत्सव एवं सामाजिक कार्यमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसअघि अनुमति लिएका विभिन्न महोत्सव, मेला, भेला तथा खेलकुदका कार्यक्रम स्थगन गर्ने जानकारी दिए। कोभिड रोकथाम, सम्बन्धी चेतनामूलक कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने उनले प्रष्ट पारेका छन् ।
प्रजिअ दाहालले संक्रमण फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सार्वजनिकस्थलमा प्रवेशका लागि माघ ७ गतेबाट खोप कार्ड अनिवार्यरुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशासनले निजी क्षेत्रका स्वास्थ्य निकायलाई समेत कोभिड–१९ संक्रमितको उपचारका लागि शैय्यासहित उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
प्रशासनले तेस्रो मुलुकबाट भारतीय सीमा आउने नागरिकलाई नाकामा एन्टिजेन परीक्षणको कार्यलाई तीव्रता दिने र संक्रमित देखिए तत्काल संस्थागत होल्डिङ सेन्टर तथा होटलमा राख्ने व्यवस्था मिलाउने जनाएको छ। सार्वजनिक सवारीमा समेत सिट संख्याभन्दा बढी यात्रु नराख्न यातायात क्षेत्रलाई प्रशासनले निर्देशन दिएको छ।





