विभिन्न भेरियन्टले थलिएर तंग्रिँदै गरेको विश्व अर्थतन्त्र अहिले रूस-युक्रेन युद्धबाट त्रसित छ । यो युद्धको कारण विश्व बजारमै आर्थिक गतिविधि प्रभावित बनेको छ । युक्रेनमाथि रूसको आक्रमणले विश्व अर्थतन्त्रमा बहुआयामिक असर पार्ने प्रष्ट देखिएको छ । यसले एकातिर मूल्यवृद्धि र वित्तीय संकट पार्नेछ भने अर्कोतिर गरिबीको संख्या थप बढाउनेछ । रूसको हमलापछि विश्वभरको शेयर बजार घटेको छ भने तेलको मूल्य आकाशिएको छ ।
युक्रेनमा चलिरहेको युद्ध र यसको पृष्ठभूमिमा बढेको रूस-अमेरिका द्वन्द्वको प्रमुख कारण रूसको प्राकृतिक ग्याससँग प्रत्यक्ष रुपमा जोडिएको आर्थिक स्वार्थ नै हो । अमेरिका रूसको ग्यासलाई विस्थापित गरेर युरोपमा आफ्नो ग्यास चाहन्छ । यही रणनीतिविरुद्ध बनेको रूसले युक्रेनमाथि रिस पोखेको हो । रूसी राष्ट्रपति पुटिनले डोनास्क र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिएर तिनीहरूसँग सम्झौता गरेर शान्ति सेना पठाएपछि युरो अमेरिकी र सिनो रसियन धुरी दुईवटा शत्रु कित्तामा परिणत भएको छ तर विश्वको ठूलो हिस्सा यसबारे बोल्न चाहेको देखिँदैन ।
अमेरिका युरोपियन युनियन र बेलायतले रूसमाथि केही नाकाबन्दी मात्र लगाएर यसभन्दा अगाडि बढ्नबाट सतर्कता देखाइरहेका छन् । यिनीहरूले आफ्नो व्यापारिक लाभका लागि युक्रेनलाई उकासेर फसाए तर त्यसलाई युद्धमा साथ दिने कुनै छेकछन्द देखिँदैन । विश्व अर्थतन्त्रमा रूस ११औं ठूलो देश हो । साथै सबैभन्दा ठूलोमध्येको वस्तु उत्पादक मुलुक पनि हो । रूसको कदमपछि अहिले पश्चिमा मुलुकहरूले नाकाबन्दी लगाउन सुरु गरेका छन् । जसको कारण रूसी अर्थतन्त्र प्रभावित हुनथालेको छ । अहिले प्रतिबन्धको असर रूसी मुद्रामा देखापरेको छ । अमेरिकी डलरको तुलनामा रूसी मुद्रा रुवलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ ।
रूसमा धेरैजसो बैंक बाहिर मानिसको ठूलो लाइन लागेको छ । हृयाकहरूले रूसी बैंकका कार्डहरू चल्न नसक्ने बनाइदिएपछि मानिस पैसा निकाल्न बैंकमा लाइन लागेका छन् । युरोपमा रूसी स्वामित्वका बैंकहरूले काम गर्न छाडेका छन् । रूसको केन्द्रीय बैंकमा लगाइएको प्रतिबन्धका कारण ६३० अर्ब डलर विदेशी मुद्राको ढुकुटी रूसले प्रयोग गर्न पाएको छैन । यसको असर रुबलमा परेको छ ।
इयु नेताहरूले रूसी केन्द्रीय बैंक र आफ्नो हवाई क्षेत्रमा रूसी विमानको उडानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसका साथै हातहतियार किन्ने र युक्रेनलाई पठाउने निर्णयसमेत गरेका बीबीसीले जनाएको छ । यद्यपि, इयुले हालसम्म ऊर्जा आपूर्ति भने रोकिसकेको छैन । अधिकांश युरोपेली देशमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ । त्यसमाथि रूसले आपूर्ति कम गर्नासाथ महँगीले आकाश छुने निश्चित छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ऊर्जा आपूर्ति रोकेर वा घटाएर इयुलाई जवाफ दिन सक्छन् ।
अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि रूसको केन्द्रीय बैंकले सबै विदेशी कानुनी संस्था तथा व्यक्तिलाई शेयर तथा रूसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ । बैंकले विनिमय तथा मुद्रा बजारबाहेक मस्को शेयर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन । बेलायतस्थित बहुराष्ट्रिय कम्पनी बीपीले ठूलो रूसी तेल कम्पनी रोज्नेफ्टमा रहेको आफ्नो करिब २० प्रतिशत शेयर अन्यत्र लैजान लागेको जनाएको छ । तर, रूसको केन्द्रीय बैंकले शेयर बिक्रीका लागि रोक लगाएका कारण तत्काल यो सम्भव नहुने देखिएको छ ।
रूसले युक्रेनमाथि तीव्र आक्रमण गरेपछि अमेरिकाको बहुराष्ट्रिय उत्पादक जनरल मोटर्सले रूसतर्पmको निर्यात रोक्ने घोषणा गरेको छ । जनरल मोटर्सले रूसमा वार्षिक रूपमा जम्माजम्मी तीन हजारवटा सवारी बिक्री गर्दै आएको छ । यसले रूसमा आफ्ना १६ वटा डिलरमार्पmत व्यवसाय सञ्चालन गर्दै आएको थियो । जनरल मोटर्स विश्वव्यापी बजारमा वार्षिक ६ मिलियन सवारी बिक्री गर्दै आएको छ । बीबीसीले जनाएनुसार अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले ह्रास आएपछि रूसले व्याजदर दोब्बरभन्दा बढीले वृद्धि गरेको छ ।
बैंक अफ रूसले रुबलको अवमूल्यन भएकोले मूल्य मिलानका लागि भन्दै व्याजदर ९ दशमलब ५ बाट हृवात्तै २० प्रतिशत पुर्याएको छ । बेलायत, अमेरिका र युरोपेली संघले रूसका बैंकलाई पश्चिमका वित्तीय बजारबाट अलग्याएपछि रूसमा यस्तो स्थिति उत्पन्न भएको हो । बेलायतले सम्पूर्ण निकाय र व्यक्तिविशेषलाई रूसको केन्द्रीय बैंक, अर्थमन्त्रालय र सम्पत्ति कोषसँग कुनै पनि कारोबार नगर्न निर्देशनसहित प्रतिबन्ध लगाएको छ ।
पेट्रोलियम पदार्थबाहेक रूस र युक्रेन दुवै कृषिजन्य वस्तु उत्पादनका ठूला निर्यातकर्ता पनि हुन् । मध्यपूर्व सहितका धेरै देशमा रूस र युक्रेनले गहुँलगायत खाद्यान्न निर्यात गर्छन् । यी देशहरूले विश्वको कूल गहुँ निर्यातमा मात्रै क्रमशः झण्डै ३० र १९ प्रतिशत स्थान ओगट्छन् । न्यूयोर्क टाइम्सका अनुसार इजिप्ट र टर्कीमा हुने कूल गहुँ आयातमा यी दुई मुलुकले ७० प्रतिशत हिस्सा ओगट्छन् । अझ युक्रेनको गहुँ निर्यातमध्ये ९५ प्रतिशत मध्यपूर्वलगायत एसियामा जान्छ । लेबनान, लिबिया, यमन जस्ता मुलुक पनि गहुँका लागि युक्रेनमाथि निर्भर छन् । पाकिस्तान, बंगलादेश र इण्डोनेसिया जस्ता दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरूसमेत गहुँका लागि यही क्षेत्रमा निर्भर छन् । खानेकुराको मूल्यले असर पर्दा भोकमरी समेत बढ्न सक्ने देखिएको छ ।
रूस–युक्रेन युद्धले विश्वका अरू कैयौं देशलाई मात्र होइन नेपालको आयात–निर्यातमा समेत असर पर्ने देखिन्छ । नेपालका लागि रूसभन्दा युक्रेन ठूलो व्यापारिक साझेदार हो । गत आर्थिक वर्ष २०७७÷०७८ मा नेपालले युक्रेनबाट १७ अर्ब १७ करोड बराबरको आयात गरेको थियो भने २२ लाख ८७ हजारको निर्यात गरेको थियो । यो वर्ष रूसबाट नेपालले दुई अर्ब ४० करोडको आयात गरेको थियो भने १५ करोड ७६ लाखको निर्यात गरेको थियो । चालु आर्थिक वर्षको सात महिनामा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड रुपैयाँबराबरको सामान आयात गरेको छ ।
जबकि, रूसबाट चार अर्ब ३१ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालले युक्रेनमा १५ लाख ७८ हजारका मात्रै सामान निर्यात गरेको छ भने रूसमा १५ करोड ११ लाखको निर्यात गरेको छ । युक्रेन तथा रूस दुवै मुलुकबाट नेपालले केराउ, पामआयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेल, कोइलालगायत वस्तु आयात गर्छ । खास गरी रूसमा नेपालले चिया, कार्पेटलगायत वस्तु निर्यात गर्ने गर्छ । युद्धले खासगरी युक्रेनबाट आयात हुने वस्तु प्रभावित हुने देखिएको छ । त्यसो हुँदा नेपालमा खानेतेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । त्यसका अतिरिक्त नेपालले युक्रेनबाट कच्चा तेल आयात गरी प्रशोधनपश्चात् भारततर्फ निर्यात गर्दै आएको छ । यसमा पनि युद्धको प्रभाव पर्नेछ ।
अन्त्यमा क्रान्तिले परिवर्तन ल्याउँछ भने युद्धले विनाश निम्त्याउँछ । विश्वले दुईवटा युद्ध भोगिसकेको छ । युद्ध जहिल्यै अमानवीय हुन्छ । युद्ध भनेको विनाश हो । यसले हिंसा गरिबी, छिन्नभिन्न जीवन, असुरक्षा र अन्धकार निम्त्याउँछ । त्यतिमात्र होइन युद्धले लैंगिक असमानता, बलात् विस्थापन, यौनहिंसा तथा मानव अधिकारलाई वर्षौं पछाडि धकेल्छ । तसर्थ थप मानवीय, भौतिक र आर्थिक क्षति रोकन रूसी र युक्रेन युद्ध वार्ताको माध्यमबाट हल गर्नु आजको आवश्यकता छ । अमेरिकाले पनि युक्रेनलाई गर्दै आएको उक्साहट बन्द गर्नुपर्छ । संयुक्त राष्ट्र संघले तटस्थ भावले यो युद्धलाई शान्तितप लैजान महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । नत्र एउटा गोलाद्र्धमा भएको युद्धले बाँकी गोलाद्र्धलाई पनि सखाप नपार्ला भन्न सकिँदैन ।





