झरना प्रकृतिको वरदानहो । झरनाबाट निस्केको नदी सृष्टिको पहिलो शुरुवात भएकोले यो आपैमा स्वच्छ,निर्मल, सेतो र कञ्चन छ । त्यसैले द्रुत गतिमा समयसँगै हिँड्ने यो निर्झरको आफ्नै गति, काल, भाका र शैली छ । पानी बर्सेर, पानी खसेर, पानी झरेर, पानी ओरालो लागेर बगिरहेको त्यो निर्झरको आफ्नै अग्रगामी छ । वन–पाखा र पर्वतहरूमा प्रवाहको झरझरले निर्झरको आफ्नै शुर र तालमा गुनगुनाउदै धेरै कालखण्डहरु बितिसकेका छन् । मानौं निर्झरले आफ्नै मौलिक लोकगीत गाउँदैछन् । परम्परादेखि छन्दबद्ध रूपमा गाउँदै आएका सार्वाधिक लोकप्रिय गीतको रक्षा गर्दैछन् । आफ्नै ठेट झर्रो शब्दहरू प्रयोग गरी आफ्नै भाकामा गीत गाउँदैछन् ।
भनिन्छ, निर्झर कसैको आँसु हो । कसैको खुशी हो । कसैको गीत हो । कसैको संगीत हो । कसैको भाव हो । कसैको ताल हो । कसैको लय हो । त्यसैले निर्झरले यो तन र मनलाई मात्र होइन मस्तिष्कलाई पनि प्रकार्य गरिन्छ । चिन्ता र उदासिनतालाई मात्र कम गर्ने होइन शरीरका लागि निन्द्रापनि दिने गरिन्छ । निर्झर विचारहरूको जन्म हो । सोचहरूको जननी हो । दिब्यशक्तिको रूपमा मनलाई चंगा पार्ने अद्भूत शक्ति हो ।निर्झर आफैंमा यौटा इतिहास हो । इतिहासलाई हामी कसैले पनि मेट्न सक्दैनौं । बरु धमिलो पार्न सक्ला । टुक्रा–टुक्रा पारेर कालखण्डलाई बुझ्न गा¥हो पार्न सक्ला । तर इतिहास नै बिर्सिने गरी यो भवसागरमा कसैले पनि पर्दा राख्न सक्दैनन् । किनकि यो त अतीत हो । अतीत कहिल्यै पनि मर्न सक्दैनन् । हेर्ने आँखा फरक हुन सक्ला तर कहिल्यै इतिहास सुत्ने गरिँदैनन् । ऊ त एकछिन पनि नरोकिकन समयसँगै आफ्नै बाटोमा हिँडिरहन्छन् । निरन्तर यो संसार प्रलयकाल नभएसम्म झरझर गर्दै झाँझर बजाए जस्तै आरोह र अबरोहले जति छेके पनि निर्झर आफ्नै स्वरले समस्त प्राणीहरूको आँखा खोल्न चाहन्छन् ।यो त प्रकृतिको नियमहो । यो नियमभित्र द्रुतगतिमा निर्झर बगिरहन्छ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठको मनमा आज झरझरले आफ्नै भाकामा गीत गुन–गुनाउदै छन् ।
द्रुत निर्झर !
झर झर्झर
वन, पर्वत
स्वरले झर !
यो रमणीय पहाड र पर्वत भन्दा धेरै माथि जहाँ बादलको राज छ । त्यही बसेर आज म निर्झरको गीत सुनिरहेको छु । मलाई निर्झरको लय र ताल सुन्न मन लाग्छ । आफ्नै भाकामा मनका बह पोखेको हेर्न मन लाग्छ । त्यसैले म टाढा भएर के भो ! जब सँगै बसे जस्तो सबै कुराहरू सुनिरहेको छु । निर्झरको मनभित्र पसी कुना–कुनामा डुलिरहेको छु । शायद् तिमीले मलाई देख्न सक्दैनौं होला । म त संसारलाई नियालिरहेको छु । मेरो जन्मभूमि जहाँ धेरै समय बसेर अन्न र पानी पिएर बाँचेको छु । जहाँ हरियो भूईमा सुतेर खुल्ला आकाशसँग धेरै कुरा गरेको छु । जहाँ सुखी भएर दुःखी नहुने प्राणीहरुको खोजिमा धेरै लागेको छु । त्यसैले यो त जीवन अल्झिने र अल्झाउने कुरो हो । निर्झर जस्तै पानीको थोपा–थोपा मिलेर झरनाबाट निस्केको छहरा भएको छु ।
आज म पहाड र पर्वत भन्दा धेरै माथि भएर के भो ! मैले सबै कुरा देखि रहेको छु । लाग्छ रुखको फेदमा बसिरहेको बेला न तिमीले मलाई देख्न सक्यौ न कसैले मलाई चिन्ह सक्यौ ? किनकि म त निर्झरको स्वरमा मुग्ध भएर बसेको थिएँ । कोहीसँग बोलचाल नगरी एक्लै निर्झरको झरमा डुबिरहेको थिएँ । वन–पाखाहरू अनि अग्ला पहाड र पर्वतहरूबाट छाँगो बनेर निरन्तर बगिरहेको देख्दा यो धरतीमा अमृतका नदीहरू बगे जस्तो लाग्छ । भाग्यले सन्तोषका श्वास फेर्दा मेरो जन्मभूमिमा निर्झरका सुरिला स्वरहरू गुन–गुनाए जस्तो लाग्छ । त्यसैले निर्झर कर्णप्रिय संगीतको मुहान हो । जहाँ संगीतका धेरै कुराहरू सुन्न सकिन्छ । जहाँ संगीतका धेरै कुराहरू बुझ्न सकिन्छ । जहाँ संगीतका खातिर निर्झर झरिरहन्छ । डाँडा–काँडा अनिवन–पाखा मात्र होइन पहाड र पर्वतमापनि निर्झरका स्वरले एक झर दुई झरहुँदै झर्झरका संगीतहरूले प्राणी जगत्लाई मन मस्तिष्कमा चेतनाका आवाजहरू सुनाई रहन्छन् ।
गिरि उपर
तरुको तल
म बसीकन
स्वर सुन्दछु !
यो कुरो सत्य हो । संगीतले जीवनलाई चंगा पार्ने काम गरिन्छ । त्यसैले होला संगीतभित्र सुख छ । आनन्द छ । रमणीय छ । प्रफुल्ल छ । पाइलै पाइलामा शान्ति छ । जीवन बिताउनकालागि, जीवन थाहा पाउनकालागि, जीवन भित्रको जीवन बुझ्नकालागि, स्वरभित्रको स्वरमा रमाउनकालागि जहाँ कलकल गरी मीठो स्वरले जीवन बिताउन सक्छ । जहाँ स्वरै स्वरहरूको सुन्दर जीवन पाउन सकिन्छ । त्यसैले यो जीवन कलकल गरी बग्ने पानी जस्तो हो । जहाँ एकछिन पनि रोक्न सकिन्न । जहाँ एकै पलमा सुन्दर जीवन पाउन सकिन्छ । जहाँ बास नपाएपनि बाँच्न सकिन्छ । किनकि यहाँका मान्छेभित्र चेतना छ । निर्झरभित्र ठूलो सपना छ । मुग्धकण्ठले गाउने ती स्वरहरू आज निर्झर मैं हराएर जीवन्त बनेको छ ।
जिन्दगी खोला जस्तो सलल्ल बग्नु पर्छ । जहाँ कलकलको संगीत छ । जहाँ कोइलीले गाए जस्तो सुन्दर सपनाको मोहनी छ । मीठो अनि गुलियो बनेर मान्छे–मान्छे भित्रपनि थुप्रै निर्झरहरू बग्न सक्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले स्वरभित्रका स्वरहरूलाई मात्र होइन जीवनभित्रका जीवनलाई पनि बुझाउन कोशिस गर्दैछन् । यौटा निर्झरले थुप्रै खोलानालाहरूको जन्महुने कुरा हामीहरूलाई बताउँदै छन् ।
स्वरमा सुख
स्वर जीवन
गर कल्कल
स्वर सुन्दर !
मनमा सुख र शान्ति नभएपछि चिन्ता बढ्नु स्वभाविक हो । उकुस मुकुस भएर उम्लिएका बाफ जस्तो भएपछि मनको ठेगाना नहुनु स्वभाविक हो । मनमा बेसरी हावाहुरी चलि घनघोर पानी परेपछि यो मन असिनापसिना हुनु स्वभाविक हो । मनमा ठूलो भूकम्प गएपछि मनका सपनाहरू चकनाचुर हुनु स्वभाविक हो । त्यसैले यस्तो ब्याकुल मन बोकेर चित्त अस्थिर भएको बेला सुख पाउनु धेरै टाढाको कुरो हो । केवल दुःखै दुःखले भरिएको यो मनभित्र भय र शोकले होला मनमा बिकलमात्र होइन चिन्तै चिन्ताले सुखको आस गर्नु ब्यर्थ छ । तसर्थ मनमा सुल चढेपछि, आन्तरिक बेदनाहरू बल्झेपछि, हृदयभित्र आगो लागेपछि, कहिल्यै निको नहुने रोग भएपछि सुख कहाँपाउन सकिन्छ र ?दुःखको अगाडी सुख कहाँ बसिरहन्छ र ? त्यसैले दुःखको अगाडी सुख टाढा हुनु स्वभाविकै हो ।
नदीले किनारलाई छिया छिया पारे जस्तै हाम्रो मन र मस्तिष्कमापनि चिन्ताको आगो बलेपछि भित्रभित्रै सुकाएर मार्ने छ । मनको बहसँगै नयनले झाँझरको तालमा थुप्रै निर्झरहरू झार्ने छन् । झरी परिरहेको बेला अतिवृष्टि भए जस्तै यताउता कताकता हेर्नै नसक्ने गरी भेल बगेपछि सुख कहाँ पाउन सकिन्छ र ? त्यसैले आज म घायल भै बाँचिरहेको छु । मनभित्र थुप्रै घात–प्रतिघातहरूसँगै युद्ध खेलिरहेको छु । म आफैंमा हारेर मर्न सक्छु । म आफैंमा जितेर बाँच्न सक्छु । के भन्न सकिन्छ र ?आखिर युद्ध न हो । जित र हारको कुरो छ । मन प्रशन्न भएर निर्धक्कसँग हिँड्ने कहिले हो ? खुशीभएर बाँच्ने दिन कहिले आउने हो ? सुख त टाढाको कुरो छ । प्रिय निर्झर मनको बहसँग आज यो हृदयबिह्वल भएर सबै कुराहरू दूर भैरहेका छन् ।
म छु बिह्वल
सुख दूर छ
बह झर्झर
प्रियनिर्झर !
हामीलाई थाहा छ । यो संसार समयले चलाई रहेको छ । पल–पलमा सम्बन्धहरू जोड्ने मात्र होइन तोडिने कामहरू पनि भैरहेको छ । नयाँ सृष्टिसँगै पुराना कुराहरू लोप हुँदैछ । जन्म र मृत्यु छिन छिनमा हाँसेर छिन छिनमा रुवाउँदै छन् । आखिर दुई दिनको जिन्दगी न हो ।हिजो र आजभोलि त शुन्य छ । निर्झर जस्तै झरनाबाट निस्केको पानी खोलानाला बनेर कताकता बग्ने हो ?भाग्यलाई दोष दिएर मान्छेहरू सुख र दुःखका कुराहरू गर्दैछन् । नजिक र टाढाका कथाहरू आफु-आफुले खोज्दैछन् । कोही सुनाइरहेका छन् । कोही सुनिरहेका छन् । कर्मलाई दोष दिएर केही गुनासो पोख्दैछन् । त्यसैले मान्छे–मान्छेभित्र, मान्छे हराएका कुराहरूदेखि लिएर मन–मनभित्र हुरी बतासले भत्काएका कुराहरू गर्दैछन् । आखिर समय न हो । थोपा–थोपा पानीबाट बनेका झरनाहरू झरझर गर्दै आफ्नै तालमा गीत गुन–गुनाउँदै बाटो लाग्दैछन् ।





