इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका श्रमिकमा कोरोना संक्रमण भएपछि उडान एक साता स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
आइतवार हुने उडान रोकिएको विभागले जनाएको छ। इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्षण गरेर त्यसको जानकारी वैदेशिक रोजगार विभागमा दिएपछि बाँकी प्रक्रिया हुनेछ। जानकारीका आधारमा उडान तालिकाबारे निर्णय गर्ने सुनुवारले बताए।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि अन्तिम छनोटमा परेकामध्ये २१९ जना इजरायल पुगिसकेका छन्। उनीहरूमध्ये २० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको सुनुवारले जानकारी दिए।
इजरायल सरकारले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले १ हजार १७५ जनालाई छनोट गरेको थियो। तीमध्ये दुई चरण गरी २१९ जना इजरायल पुगिसकेका छन्। त्यस्तै‚ गरी ३०५ जनाको भिसा जारी भएको छ। यसैगरी ९९५ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ।





