सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङ्गणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन्।
कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरुलाई अपिल गरे। उनले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यामहरुलाई पनि पटकपटक आग्रह गरेका थिए।
सो कल सेन्टरमा ६ जना कर्मचारीहरुले २४ सै घण्टा सेवा दिनेछन्। मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे। सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ।





