काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिए। ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् सञ्चालनमा आएको छ’, उनले भने, ‘७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुंगा हो।’
महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरेको जानकारी दिए।
विमानस्थलको धावनमार्ग बिहीबार सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ (बुद्ध जयन्ती)देखि हुने प्राधिकरणले जनाएको छ।
नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ। तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्।





