– जयराम बिडारी
लोमश वाङ्मय प्रतिष्ठानको समुद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा सुसम्पन्न भएको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा आयोजित उक्त समारोहमा देशका कतिपय भागमा बाढी पहिरोले तहसनहस पारेका कारण भारी मनका साथ भएपनि शारदीय पर्वहरूको पूर्व सन्ध्या भएकोले औपचारिकता निर्वाह गर्न नै किन नहोस् शुभकामना आदानप्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रम समुद्घाटन गर्दै लोमश वाङ्मय प्रतिष्ठान जस्ता थुप्रै प्रतिष्ठानहरूले स्थानीय निकायसँग समन्वय गरी भुइँतहमा समावेशी कला, साहित्यका विविध कार्यक्रम आयोजना गरी साहित्य उन्नयनमा लाग्नुपर्ने बताए । उनले प्रज्ञा-प्रतिष्ठानका एघार विभागमा अत्यन्त न्यून बजेट हुने अवगत गराउँदै त्यसले कला, साहित्य, संस्कृति र भाषा क्षेत्रमा पर्याप्त काम गर्न नसकिने खुलासा गरे । उनले लोमश वाङ्मय प्रतिष्ठान क्रियाशील तथा ‘केही गरौँ’ भन्ने हुटहुटी बोकेका युवाहरूको संस्था भएको बताउँदै यसले समन्यायिक समाज स्थापनार्थ सेतुको काम गर्ने सामर्थ्य राख्ने बताए । राईले प्रज्ञा-प्रतिष्ठान लोमश वाङ्मयसँग सम्भव हुने विषयमा सहकार्य गर्न इच्छुक रहेको अवगत गराए ।

त्यसरी नै विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा. धनप्रसाद सुवेदीले भाषा, साहित्य वा संस्कृतिका क्षेत्रमा भएका बेथितिलाई न्यूनीकरण गर्न प्रज्ञा-प्रतिष्ठान अहोरात्र तम्तयार भएपनि बिग्रे,भत्केका सबै कुरामा प्रज्ञा-प्रतिष्ठानमाथि नै औँलो ठड्याउने आमप्रचलनप्रति असन्तुष्टि प्रकट गरे । एउटा विभागमा आउने पाँच लाख बजेटले कुनै पनि वृहत् कार्यक्रम सम्पन्न गर्न नसकिने दाबी गर्दै यो काममा लोमश जस्ता संस्थाले स्थानीय तहसँग हातेमालो गर्दै प्रज्ञा-प्रतिष्ठानलाई सघाउन आग्रह गरे । पर्याप्त बजेट स्थानीय तहमा हुने भन्दै भाषा,साहित्य तथा कलाको समुत्थानका निम्ति स्थानीय तहबाट मन्थन हुनुपर्ने अडान राखे ।
विशेष अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले आफूले गाउँपालिकाको आर्थिक हैसियतका आधारमा साहित्यको क्षेत्रलाई माया गरेको र यस्ता कार्यक्रम रूचिकर लाग्ने बताउँदै कहिलेकाहीँ त जनस्तरबाट गापा अध्यक्ष कहिलेदेखि कवि भयो भन्ने टिप्पणीसमेत हुन थालेको खुलासा गरे । एक फरक प्रसङ्गमा काठमाडौँले पिउँदै गरेको पानीको मुहान नै आफ्नो गापामा पर्ने स्मरण गराउँदै हेलम्बुमा काठमाडौँवासीलाई स्वागत गर्न आफूहरू आतुर रहेको उनको कथन थियो । हेलम्बु प्रकृतिको वरदान भएको बताउँदै अनेक घ्याङ, आमायाङ्ग्रीदेखि ग्रेट ट्रेलसम्मका अद्भुत धरोहर हेर्न हेलम्बु आउनै पर्ने जिकिर गरे । उनले हेलम्बु विकासको मोडेलसँग सहरवासीलाई साक्षात्कार हुनसमेत सुझाए ।
अर्का विशेष अतिथि चर्चित लघुकथाकार खेमराज पोखरेलले लोमश वाङ्मय प्रतिष्ठानको सुरूआत नै भव्य रहेको दाबी गर्दै यसले साहित्योत्थानमा अतुलनीय योगदान दिन सक्ने अभिमत जाहेर गरे । उनले गुणस्तरीय लेखनलाई महत्त्व दिँदै गर्दा नवोदित स्रष्टालाई कम आँक्न नहुने कुरामा सबैलाई सचेत गराए । नवोदित नभई कोही परिष्कृत नहुने भन्दै नवोदितलाई निरूत्साहित गर्न नहुने विषयमा उनले जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले प्रतिष्ठानको परिचय दिँदै आगामी कार्यक्रमबारे सङ्क्षिप्तमा प्रकाश पारे । उनले प्रतिष्ठान आगामी दिनमा सम्बन्धित सबैसँग हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध भएको प्रस्ट्याए ।
कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष विष्णु सापकोटा, चर्चित नियात्राकार तथा त्रिशूली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान डङ्गोल, कर्मदा सिर्जना मञ्चका अध्यक्ष जगदीश्वर पोखरेल, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, भूमेश्वरी मा.वि.का प्रधानाध्यापक यमबहादुर जोती, रहिमका अध्यक्ष लुभराज न्यौपानेलगायत एक दर्जन सङ्घ-संस्थाका प्रमुखहरूले शुभकामना मन्तव्य राखेका थिए ।
चर्चित युवा लोकदोहोरी गायक रुपेश गुरूङ तथा शिवराज गौतमले साङ्गीतिक प्रस्तुति राखेको उक्त कार्यक्रममा पार्वती भट्टले देउडा गीत प्रस्तुत गरेकी थिइन् । रूबि सत्याल, पार्वती अधिकारी, अञ्जु तिमल्सिना घिमिरे, शोभा शरभ, अलका मल्ल, सुजिता अविरल, कमला घिमिरे अधिकारी, भरत पौडेल, गोपालकृष्ण अधिकारी,लगायत एक दर्जन बेसी स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।
लघुकथाकार तथा प्रतिष्ठानकी सदस्य सत्या अधिकारीले उपस्थित अभ्यागतहरूलाई स्वागत गरेको सो कार्यक्रममा अर्थ-संयोजक गोपालकृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
सूचक प्रकाशनका अध्यक्ष तथा सम्यक् सन्देशका सम्पादक दीपक भेटुवाल, स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल, बालसाहित्यकार तथा आख्यानकार केशरी अम्गाई, वागमती टीभीका कार्यकारी अधिकृत मनोज न्यौपाने, सञ्चारकर्मी जयराम बिडारी, सगोत्री आचार्यलगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण तथा समापन सचिव नवीन ‘पल्लव’ले गरे ।





