२०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौँको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङको ५ हजार ६ सय ४५ जना रहेक छन्।
यस्तै दोस्रो स्थानमा मोरङ, तेस्रोमा रूपन्देही, चौथोमा झापा र पाँचौँमा सुनसरीमा सर्वाधिक जनसंख्या छन्।
यस्तै मनाङ पछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।
जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ रहेको विभागले जनाएको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरु क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका पर्दछन् ।
सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ।





