काठमाडौं : तराईका धेरै क्षेत्रमा शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केहीदिनदेखिको शीतलहरले तराईमा चिसो बढ्नुका साथै बाक्लो हुस्सु र कुहिरोले आकाश ढाकेको छ। नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरसम्म पनि सुरु भएको विभागले जनाएको छ।
सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसो बढेको छ। विभागका अनुसार शीतलहरको अवस्था केही दिन कायमै रहने छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु र कुहिरोका साथै शीतलहर रहेको मौसमविद् शान्ती कँडेलले जानकारी दिइन्।
आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।
