काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् ।
सभापति निवासमा आज आयोजित छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित रहन, आवश्यक तयारी पूरा गर्न तथा भ्रमणका क्रममा निर्धारित आचारसंहिता पालना गर्न प्रतिनिधिमण्डलका सदस्यहरूलाई निर्देशन दिएका हुन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार छलफलमा सभापति लामिछानेले भ्रमणको उद्देश्य, आवश्यक तयारी र प्रभावकारी सहभागिताका विषयमा प्रतिनिधिमण्डललाई मार्गनिर्देशन गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जान लागेको हो ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन् ।
Previous Articleनेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
Next Article छठ पर्वका बहुआयामिक पक्षहरु

