काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले पार्टी निर्माणमा लामो समय योगदान गरेका नेताहरू १५औँ महाधिवेशनमा सहभागी नहुँदा आफूलाई नमिठो लागेको बताएका छन्।
महाधिवेशनको बन्दसत्र समापनलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवासहित महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टी एकताका लागि पुनः जोडिन आग्रह गरे। उनले कांग्रेस सबै नेताको योगदानबाट बनेको पार्टी भएको उल्लेख गर्दै देउवाले पार्टी निर्माणमा लामो समय संघर्ष र योगदान गरेको स्मरण गरे।
‘नआउनुभएका नेतालाई आग्रह गर्छु । अझै दुई हात जोडेर आग्रह गर्छु । हामी सबैले मिलाएर बनाएको पार्टी हो,’ थापाले भने, ‘श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा योगदान गर्नुभएको छ । अरू नेताको पनि योगदान छ । उहाँहरू यहाँ नआउँदा नमीठो लागेको छ।’
कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पटक–पटक निवेदन परेको प्रसंग उल्लेख गर्दै थापाले अब विवादलाई थप नलम्ब्याई पार्टीलाई अघि बढाउनुपर्ने बताए। उनले अदालतबाट आएका निर्णयपछि विवादलाई ‘च्याप्टर क्लोज’ गरेर संगठन निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।
थापाले पार्टीभित्र नेताहरूलाई सम्मान गर्ने र सबैलाई जोडेर अघि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। सभापतिको जिम्मेवारी पाए पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले लिने उनको भनाइ थियो।
नेतालाई सम्मान गर्ने, जोड्ने कुरामा लागौँ। गनगन गर्ने, चलाउने कुरामा नअलमलिऔँ। मिलाउने कुरामा जे गर्न सकिन्छ, लागौँ। सभापतिको जिम्मा तपाईंहरूले दिएपछि मिलाउने जिम्मा मेरो हुनेछ,’ थापाले भने।
थापाले महाधिवेशनपछि पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

