ईश्वरी थापा
काठमाडौं । नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को २१ औँ स्थापना दिवस तथा प्रशिक्षण कार्यक्रम असोज ३ गते शनिबार काठमाडौंको पुतलीसडकस्थित जिफन्ट केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
युनियनकी अध्यक्ष ज्ञानु केसी (कार्की) को अध्यक्षता तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेतृत्व विकास, संगठनको इतिहास, आगामी कार्यदिशा तथा श्रमिकका हक–अधिकारका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।
हुन केन्द्रीय महासचिव ;हीरा केसीद्वारा सन्चालित कार्यक्रमको पहिलो सत्रमा जिफन्ट उपाध्यक्ष तथा आईटीयूसीका सल्लाहकार विदुर कार्कीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
हुन उपाध्यक्ष ;अनिता तुलाधरको स्वागत मन्तव्य रहेको प्रशिक्षण कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथि विनोद श्रेष्ठले २१ औँ स्थापना दिवसको शुभकामना दिँदै बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशसँगै प्रविधिसँग जोडिएर संगठनलाई आधुनिक र प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो।
उहाँले श्रमिकलाई नयाँ–नयाँ प्रविधिमा अभ्यस्त गराउँदै संगठनका विभिन्न गतिविधि तथा जिम्मेवारीमा निरन्तर सहभागी गराउनुपर्नेमा जोड दिनुभयो। संगठनको शक्ति नै जिम्मेवार सदस्य भएकाले नयाँ क्षेत्रमा सदस्यता विस्तार गर्दै श्रमिक अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिकको पहुँच तथा सहभागिता सुनिश्चित गर्न युनियनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
युनियनका प्रतिनिधि परिषद् प्रमुख चन्द्रसागर लामाले सन् २०३६ देखि हालसम्म संगठनले गरेका गतिविधि, विभिन्न अधिवेशन, त्यस क्रममा उठाइएका नारा तथा विषयवस्तु र हासिल भएका उपलब्धिबारे प्रस्तुति दिनुभएको थियो। उहाँले विगतका अनुभव र संघर्षबाट पाठ सिक्दै आगामी दिनमा संगठन निर्माणलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
युनियनकी अध्यक्ष ज्ञानु केसीले स्थापना दिवस विगतका संघर्ष, तयारी र उपलब्धि सम्झने दिन मात्र नभई आगामी कार्यदिशा तय गर्ने अवसरसमेत भएको बताउनुभयो।
संगठनको इतिहास र अनुभवसँगै वर्तमान अवस्थाको विश्लेषण तथा युवाको जोस र ऊर्जालाई आधार बनाएर आगामी योजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
काठमाडौं जिल्ला कमिटी गठन:
स्थापना दिवसकै अवसरमा संयोजक ; श्याम बिश्वकर्मा लगायत ७ सदस्यीय नेपाल गृह श्रमिक ट्रेड युनियनको काठमाडौं जिल्ला कमिटीसमेत गठन गरिएको छ।
नयाँ कमिटीमार्फत काठमाडौंमा गृह श्रमिकको संगठन विस्तार तथा श्रमिकका हक–अधिकारका विषयमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
जुगकाटेमयुको केन्द्रीय अध्यक्ष ; फुलमाया लामाको सम्पुर्ण घटकको तर्फबाट शुभकामना रहेको कार्यक्रममा संगठनलाई प्राविधिमैत्री बनाउदै श्रमिक अधिकार ,योगदानमा आधारित सामाजिक सुरक्षा सूचीकरणमा बक्ताहरुको जोड रहेको थियो ।
यसैबीच, चीनको ल्हेन्दे हुँदै भोटेकोशीबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित परिवारका लागि सञ्चालन गरिएको राहत तथा डिजास्टर सहयोग अभियानमा युनियनले रु. १५ हजार सहयोग गरेको छ।
युनियनका उपाध्यक्ष सुवास खातीको समन्वयमा संकलित उक्त रकम जिफन्टलाई हस्तान्तरण गरिएको हो।

