उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव पछिल्लो समय ग्यास उद्योगी तथा कर्मचारीप्रति आक्रोशित देखिएकी थिइन्।
बुधबार संसदीय समितिको बैठकमा उनले ५८ वटा ग्यास उद्योगको औचित्यमाथि नै प्रश्न उठाउँदै उद्योगीलाई कडाइ नगरेसम्म ग्यास आपूर्ति सहज नहुने धारणा राखेकी थिइन्।
उनले प्रशासनिक संयन्त्रमाथि समेत असन्तुष्टि जनाउँदै ‘देश कर्मचारीतन्त्रले चलाएको छ’ भन्दै सरकारलाई काम गर्न कर्मचारीतन्त्रले अवरोध गरिरहेको आरोप लगाएकी थिइन्।
मन्त्री यादवको उक्त अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन र उद्योगीसँग माफी माग्नुपर्ने माग गरेको थियो।
ग्यास आपूर्ति व्यवस्थापनको विषयमा उद्योगी र सरकारबीच विवाद चर्किरहेका बेला मन्त्री यादवको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

