काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्षको भदौ महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।
चालु आर्थिक वर्षको साउन र भदौ गरी दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।
यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा मिश्रित अवस्था
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो। यसअनुसार नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ।

