मंसिर २०८३, काठमाडौं।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न। Fone Loan, BNPL क्रेडिटकार्ड र अनलाइन पोर्टलको शुभारम्भ।
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा प्रधान कार्यालय धर्मपथ, काठमाडौंको प्राङ्गणमा ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ।
वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले मिति २०८३ कार्तिक ३० गते सोमबार एक विशेष समारोहको आयोजना गरी आफ्नो गौरवमय यात्राको उत्सव मनाएको हो।
प्रमुख आतिथ्यता तथा डिजिटल सेवाको शुभारम्भ समारोहका प्रमुख अतिथि माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका तीन महत्त्वपूर्ण नवीनतम डिजिटल सेवाहरू— Fone Loan, Buy Now Pay Later (BNPL) क्रेडिटकार्ड, र Online Loan Application Portal को औपचारिक शुभारम्भ गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न कृषि, जलविद्युत, पर्यटन, सूचना प्रविधि, निर्यातमुलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
साथै, संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत जनविश्वास कायम राख्दै डिजिटल रूपान्तरण, साइबर सुरक्षा र तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्नेमा उहाँको जोड थियो।
बैंकको वर्तमान सञ्जाल र डिजिटल पहुँच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घ बहादुर रावलको विशिष्ट आतिथ्यता र बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) तिलक राज पाण्डेयले स्वागत मन्तव्य राख्दै बैंकको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

