सन्ताेष प्रसाद तिवारी
काठमाडौं।
मानव समुदायको चेतनामा विकसित भएको सभ्यताको धारणा नै वास्तविक विकासको आधार हो । तर त्यो विकास सामाजिक, आर्थिक, बौद्धिक, सांस्कृतिक, राजनीतिक तथा यान्त्रिक रूपमा पूर्ण हुन सके मात्र सभ्यताको अर्थ सार्थक हुन्छ । आजको मानव समुदाय अझै पनि वास्तविक संसारभन्दा अवास्तविक संसारमै बढी अल्मलिएको देखिन्छ । मानिसहरूले कृत्रिम सुखलाई नै वास्तविक सुख ठानेर जीवन बिताइरहेका छन् । उनीहरूले अनुभूति गरिरहेको त्यो सुख पानीको फोकाजस्तै क्षणिक हुन्छ भन्ने पत्तो समेत पाएका छैनन् ।
समाजमा ठग र ढोंगीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । अझ भलाद्मीको आवरणमा रहेका अपराधी र वास्तविक असल मानिस छुट्याउन कठिन भइसकेको छ । आखिर शब्द एउटै हो “ठग”। समाजले पनि यही भन्छ । एक हिसाबले हेर्ने हो भने सिंगो संसार नै ठग र ढोंगीहरूको सञ्जालमा चलिरहेको प्रतीत हुन्छ । अझ भन्ने हाे भने,व्यक्तिले व्यक्तिमाथि शासन गर्नु भनेको अमानवतावादी चिन्तन र चेतनालाई बढावा दिनु हो । लोभी, दुराचारी, सन्की, उत्ताउला, मन्दबुद्धि, जाली, फटाहा, धूर्त, घमण्डी र अहंकारी व्यक्तिहरूका लागि यस्तो प्रवृत्ति सहज विषय बन्न पुगेको छ ।
इतिहास भूत, वर्तमान र भविष्यलाई जोड्ने एउटा सीमाविहीन बिन्दु हो, जसको अन्त्य कहिल्यै हुँदैन । इतिहासका चिन्ह, अभिलेख र घटनाहरूको गहिरो अध्ययन तथा अनुसन्धानबाट नै मानव समुदाय वृद्धि, विकास, उन्नति, प्रगति र नेतृत्वको सफल यात्रासम्म आइपुगेको मान्न सकिन्छ । विस्तृत रूपमा हेर्दा इतिहास त्यति पुरानो पनि छैन, न त वर्तमान अवस्था पूर्ण रूपमा बदलिएको नै छ । मानव समाज विभिन्न कालखण्ड, संघर्ष, गतिविधि र जीवनशैलीका अनेक चरण पार गर्दै ढुंगे युगबाट आधुनिक युगसम्म आइपुगेको हो । प्राकृतिक विपत्तिसँग संघर्ष गर्दै, अनेकौं चुनौती पार गर्दै आज मानव २१औँ शताब्दीको नविनतम अवस्थामा पुगेको छ ।
तर यति धेरै परिवर्तन र प्रगतिका बाबजुद पनि मानव समुदायले वास्तविक मानवता र सभ्य मानवको पहिचान दिन भने अझै सकेको छैन । सभ्यताको वास्तविक धारणा मन चोखो र विचार पवित्र भएका महान व्यक्तित्वहरूले मात्र ग्रहण गर्न सक्छन् । जति–जति मानव समुदायको विकास हुँदै गएको छ, त्यति–त्यति समाज सकारात्मक सोचभन्दा नकारात्मक सोचतर्फ बढी केन्द्रित हुँदै गएको देखिन्छ । आदर्श, नैतिकता र संस्कारहरू क्रमशः विलुप्त हुँदै गइरहेका छन् ।
आज समाजमा जताततै पथभ्रष्ट, अपराधी, भ्रष्टाचारी, स्वार्थी, लोभी, घमण्डी, शोषक, हत्यारा, छद्मभेषी र अमानवीय चरित्र बोकेका मानिसहरूको प्रभाव बढ्दो छ । मानवद्वारा सिर्जित फोहोर, ढल, केमिकलयुक्त विषाक्त ग्यास, सडेगलेका पदार्थ तथा दुर्गन्धित वस्तुहरू जस्तै समाजमा पनि विकृति र विसंगतिका अनेक रूप फैलिएका छन् । ती सबै बेकार वस्तुहरूको उचित व्यवस्थापन मानवले नै गर्नुपर्ने हुन्छ । नालीभित्र रहेका ब्याक्टेरिया, सूक्ष्म जीवाणु र किराफट्याङ्ग्राहरूलाई जसरी हामी किरा भन्छौँ, आजको मानव समाज पनि त्यस्तै नाली र नालीका किराको अवस्थाजस्तै देखिन थालेको छ ।
भोक, प्यास, गरिबी, अभाव, बेरोजगारी, भ्रष्टाचार, जालसाजी, अन्याय, अत्याचार, दमन, शोषण तथा रोगले ग्रस्त समाजमा जुवा–तास, धूम्रपान, मद्यपान, नशालु पदार्थ र विषाक्त अम्लहरूको प्रयोग बढ्दो छ । यसले मानव शरीरलाई कमजोर, अशक्त र मन्दबुद्धि बनाउँदै अमानवतावादी सोचलाई विस्तार गरिरहेको छ । आज यस्तो अवस्था सिर्जना भएको छ कि मानिसले मानिसलाई चिन्न छाडेको छ । एकले अर्कालाई विश्वास गर्न सक्दैन । धनी–गरिब, शिक्षित–अशिक्षित तथा उँच–निचको भावनाले समाज अन्धकारमय बन्दै गएको छ ।
मानवीय गुणहरू अमानवीय गुणमा परिणत भइरहेका छन् । भौतिक रूपमा मानिस मानवजस्तै देखिए पनि व्यवहार, चरित्र, आदर्श र नैतिकताका आधारमा ऊ पूर्ण मानव बन्न सकेको छैन । मानवमा हुनुपर्ने मानवीय गुण, व्यवहार, आदर्श र नैतिकता आज बाटो बिराएको जस्तो अनुभूति हुन्छ । मानव संस्कृतिले निर्माण गरेको मानवताको सुन्दर अस्तित्व दिनप्रतिदिन मेटिँदै गएको छ ।
यस्तै विसंगति, कुसंस्कृति र अमानवीय व्यवहारका कारण समाज जिर्ण, दुर्गन्धित नालीजस्तो बनेको छ, जहाँ मानिसहरू नालीका किराझैँ फस्टाइरहेका छन् । मानवलाई संसारकै सर्वश्रेष्ठ जीव मानिए पनि वास्तविक अर्थमा ऊ अझै पूर्ण ज्ञानी र सभ्य मानव बन्न सकेको छैन ।
अन्त्यमा भन्नुपर्दा, नाली वा फोहोर गन्हायो भनेर नाक थुनेर हिँड्नु भन्दा आफ्नो मनभित्र रहेका दरिद्रता, अपराधी मानसिकता र नकारात्मक सोचलाई हटाउन आवश्यक छ । सकारात्मक सोच र पवित्र विचारलाई आत्मसात् गर्दै व्यवहारलाई स्वच्छ बनाउनुपर्छ । आफ्नो मनभित्रका अन्धकार र कालो बादल हटाएर चन्द्रमाको उज्यालोजस्तै शुद्ध चेतनाको विकास गर्न सके भविष्यको मानव समुदाय अझ सभ्य, सुन्दर र मानवीय बन्न सक्छ । दयामाया, करुणा, आदर्श र नैतिकता जस्ता मानव गुणलाई आत्मसात् गर्दै गल्ती सुधार्ने, असल नीति–नियम पालना गर्ने र नक्कली समाजबाट सक्कली (ओरिजिनल) समाजतर्फ रूपान्तरण हुने प्रयास गर्नु नै आजको मानव समुदायको वास्तविक सफलता हो ।

