काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारण सभा २०८३ असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाबाट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि हाल कायम लेखापरीक्षक एन.बि.एस.एम. एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय पनि सभाले गरेको छ।
कम्पनीका अनुसार आषाढ मसान्त २०८३ को वासलातअनुसार प्रतिशेयर आम्दानी १२.६६ रहेको छ। वितरणयोग्य आम्दानीबाट शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित करिब ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।
नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो योगदान
लक्ष्मी सनराइज क्यापिटलले नेपालको पुँजी बजारमा शेयर निष्काशनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषका गतिविधिको सुरुवातदेखि नै योगदान पुर्याउँदै आएको छ। तीन दशकभन्दा लामो समयदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

