काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक नयाँ म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री मंसिर २ गतेदेखि खुला गर्ने भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट गत असोज ७ गते स्वीकृति पाएको यस योजनाको अवधि १० वर्ष रहेको छ। यसको इकाई खरिदका लागि मंसिर २ गतेदेखि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गते बन्द हुनेछ।
योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले बीज पुँजीका रूपमा लगानी गर्नेछ।
५० उत्कृष्ट कम्पनीमा लगानी गर्ने लक्ष्य
सिटिजन्स सुपर ५० म्युचुअल फण्डको मुख्य उद्देश्य उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनी छनोट गरी तिनको सेयरमा लगानी गर्नु रहेको छ। विभिन्न कम्पनीको अध्ययन तथा विश्लेषण गरेर विविधीकृत लगानी पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य योजनाले राखेको छ।
विशेषगरी सेयर बजारमा आफैँ कम्पनी छनोट गरी लगानी गर्न कठिनाइ हुने सर्वसाधारण लगानीकर्तालाई विशेषज्ञ व्यवस्थापनमार्फत सामूहिक लगानी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले मेरो सेयर तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।
इकाई बाँडफाँडपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। त्यसपछि दोस्रो बजारमार्फत यसको कारोबार गर्न सकिनेछ।
सिटिजन्स क्यापिटललाई ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमा हासिल गरेको अनुभव र संस्थागत क्षमताका आधारमा इक्रा नेपालबाट ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्राप्त गरेको छ।
यसअघि कम्पनीले व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरेका थिए।
कम्पनीले विगतको व्यवस्थापन अनुभव, लगानी अनुशासन र इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनालाई पनि व्यावसायिक तथा व्यवस्थित रूपमा सञ्चालन गर्ने जनाएको छ।
सामूहिक लगानी कोष व्यवस्थापनसँगै सिटिजन्स क्यापिटलले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्शलगायत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।

