काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको छ। बैंकले ‘६५ आरबिबिएल डिबेन्चर २०८९’ नामक सात वर्षे ऋणपत्र असोज २९ गतेदेखि बिक्री खुला गरेको हो।
बैंकका अनुसार उक्त ऋणपत्रमा लगानीकर्ताले कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिइकाई एक हजार रुपैयाँ अंकित मूल्य रहेको ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम उपलब्ध सम्पूर्ण इकाईसम्म आवेदन दिन सकिनेछ। यसअनुसार न्यूनतम २५ हजार रुपैयाँ लगानी गरेर ऋणपत्र खरिद गर्न सकिनेछ।
बैंकले कुल ३० लाख इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्याइएको छ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रको कुल मूल्य एक अर्ब २० करोड रुपैयाँ रहेको छ।

