कात्तिक १, सिन्धुपाल्चोक। डेढ महिनादेखि बन्द रहेको नेपाल–चीन व्यापारको महत्त्वपूर्ण तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। नाका कात्तिक १ देखि ३ गतेसम्म खुला रहने जनाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै नाका अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। यस अवधिमा मालवाहक सवारीसाधन अर्थात् कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ।
दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नाका तीन दिनका लागि खोल्न लागिएको हो। नाका सञ्चालनमा आएपछि चीनबाट सामान आयात गर्ने व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
गत भदौ १० गते आएको भोटेकोशीको बाढीका कारण रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको थियो। त्यसपछि भदौ १४ गते चीनले तातोपानी नाकासमेत बन्द गरेको थियो। दुवै नाकामा अवरोध हुँदा नेपाल–चीन व्यापार तथा आपूर्ति व्यवस्थामा चुनौती थपिएको थियो।
मन्त्री साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको अनुरोधलाई सम्बोधन गर्दै तातोपानी नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आउँदा दसैँका समयमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन तथा रोकिएका मालसामान भित्र्याउन यस्तो निर्णय गरिएको हो।

