ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको बैंकले जनाएको छ।
सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। बैंकको सञ्चालन मुनाफा भने ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने जनाइएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकहरूको निरन्तर सहयोगले बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए। उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैंकले ग्राहकलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङमा लगानी विस्तार गर्ने जनाएको छ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ।
यसैबीच, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्मचारीको एक दिनको तलबसमेत समेटेर ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

