काठमाडौं । उद्योगी व्यवसायीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै व्यवसायीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा मूल्य वृद्धि गरेका हुन्।
मूल्य वृद्धिसँगै अब एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। व्यवसायीका अनुसार नयाँ मूल्य काठमाडौं उपत्यकामा आजदेखि नै लागू हुनेछ।
यसअघि भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको थियो। तर, निगमले लामो दूरीमा ढुवानी गर्दा थप लागत लिन सकिने व्यवस्था गरेपछि व्यवसायीलाई ग्यासको मूल्य बढाउने बाटो खुलेको हो।
निगमले आफ्नो डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्म साविककै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। सोभन्दा लामो दूरीमा ढुवानी गर्दा भने थप ढुवानी लागतअनुसार मूल्य लिन सकिने व्यवस्था गरिएको छ।
निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासका लागि उद्योगदेखि ५० किलोमिटरसम्म २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख गरेको थियो। यससँगै ५० किलोमिटरभन्दा टाढाका उपभोक्ताका लागि ढुवानी लागतअनुसार मूल्य निर्धारण गर्न सकिने अवस्था बनेको हो।
यसअघि निगमका विज्ञप्तिहरूमा ५० किलोमिटरभन्दा परको दूरीमा ग्यास ढुवानी गर्दा लागतअनुसार मूल्य निर्धारण गर्न सकिने स्पष्ट व्यवस्था उल्लेख थिएन। पछिल्लो व्यवस्थापछि भने व्यवसायीले पृथ्वी राजमार्ग अवरुद्ध भएको कारण देखाउँदै उपभोक्तामाथि थप मूल्यको भार थोपरेका छन्।
नयाँ मूल्य लागू भएपछि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासमा १०५ रुपैयाँ १८ पैसा थप तिर्नुपर्ने भएको छ।

