काठमाडौं, कात्तिक ४। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
हरेक नागरिकले सरकार आफ्नै लागि रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत अपरिहार्य रहेको बताएका छन्। परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत सुधार ल्याउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन्।
उनले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने उल्लेख गरेका छन्। टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस पर्वको परम्पराले पारिवारिक सम्बन्ध, आत्मीयता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उनको सन्देश छ।
प्रधानमन्त्री शाहले विजयादशमीको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै सकारात्मक परिवर्तनका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका छन्।

