काठमाडौं ।
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।
भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार भण्डारी फोरममा विशिष्ट अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्न चीन जान लागेकी हुन्।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्न लागेको उक्त फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्।
सीपीआईएफएले गत शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिहरूले फोरममा सहभागिता जनाउने निश्चित गरेका छन्।

