काठमाडौँ । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको निम्रोज प्रान्तस्थित मरुभूमिमा फेला परेको छ। अधिकारीहरूका अनुसार सवारीसाधन बिग्रिएपछि उनीहरू हप्तौँअघि पैदल यात्रा गर्न बाध्य भएका थिए।
समूहका चालक तिर्खा र अत्यधिक थकानका कारण निम्रोजको एक गाउँमा पुगेर सहयोग मागेपछि सुरक्षाकर्मीले खोजी अभियान सुरु गरेका थिए। प्रारम्भिक खोजीमा पाँच जनाको शव फेला परेको थियो भने पैदल यात्रा गरिरहेका बाँकी १४ जनाको खोजी जारी राखिएको थियो।
निम्रोज प्रान्तीय अस्पतालका एक स्रोतका अनुसार ती १४ जनाको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको हो। प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मुतवाकिल तौहिदीले पनि घटनाको पुष्टि गरेका छन्। इरान अफगान आप्रवासीहरूको प्रमुख गन्तव्यमध्ये एक भए पनि त्यहाँ वैधानिक रूपमा प्रवेश गर्ने अवसर सीमित भएकाले धेरैले जोखिमपूर्ण मार्ग रोज्ने गरेका छन्।
पूर्वी बाडघिस प्रान्तको कोलघी गाउँका स्थानीय अब्दुल खालेखका अनुसार मृतकमध्ये सबै १४ जना सोही गाउँका युवा थिए। उनीहरू २३ दिनअघि रोजगारीको खोजीमा घरबाट निस्किएका थिए।
यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले मानव तस्करीविरुद्धको अभियानलाई अझ सशक्त रूपमा अघि बढाइएको बताएका छन्।
अफगानिस्तान–इरान सीमा क्षेत्रमा गर्मीयाममा अत्यधिक तापक्रम र जाडोयाममा कठोर चिसोका कारण यस्तो जोखिमपूर्ण यात्रा प्रायः घातक बन्ने गरेको छ। गत डिसेम्बरमा पनि इरान प्रवेश गर्ने प्रयासमा रहेका कम्तीमा १८ अफगान नागरिक चिसोका कारण ज्यान गुमाएका थिए, जसमा १५ वर्षीय एक किशोर समेत थिए।

