काठमाडौं, कात्तिक १८।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकताको अभियानमा सहभागी हुन वामपन्थी नेताहरूलाई आह्वान गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का नेता मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै वामपन्थी नेताहरूलाई एकताको अभियानमा जुट्न आग्रह गरेका हुन्।
‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ प्रचण्डले भने।
उनले शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै कम्युनिस्ट शक्तिहरूबीच एकताका लागि पटक–पटक पहल गर्दै आएको स्मरण गरे। संविधान जारी भएपछि जनताले कम्युनिस्ट पार्टीहरूमाथि ठूलो अपेक्षा राखेकाले तत्कालीन नेकपा एमालेसँग एकताका लागि पुनः प्रस्ताव गरेको उनले बताए।
प्रचण्डले विगतको राजनीतिक सहकार्य स्मरण गर्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भएको उल्लेख गरे। उक्त निर्वाचनमा वाम गठबन्धनले झण्डै दुईतिहाइ जनमत प्राप्त गरेको पनि उनले बताए।
निर्वाचनबाट प्राप्त जनमत देशमा सुशासन कायम गर्ने र समाजवादको आधार तयार पार्ने ऐतिहासिक अवसर भए पनि त्यसलाई जोगाउन नसक्नु दुर्भाग्यपूर्ण भएको प्रचण्डको भनाइ थियो।
विगतका एकता प्रयास असफल भए पनि त्यसबाट निराश हुनुभन्दा पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले देश र जनताको हितका लागि पुनः कम्युनिस्ट एकता र ध्रुवीकरणको अभियान सुरु गरिएको स्पष्ट पारे।
अहिले भएको पार्टी एकता त्यसैको सुरुआत भएको उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन सबै वामपन्थी शक्तिहरूलाई साझा अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

