विश्वनाथ खरेल
संसारमा आमालाई सृष्टिको जननी र ममताकी खानी मानिन्छ भने पितालाई त्यस सृष्टिको बलियो आधार, संरक्षक र असीम आकाश मानिन्छ । हाम्रा प्राचीन पूर्वीय दर्शन र सनातन धर्मशास्त्रहरूमा पिताको स्थानलाई ईश्वरभन्दा पनि माथि राखिएको छ । संस्कृतको प्रसिद्ध श्लोक “पिता स्वर्गः पिता धर्मः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।” ले पिताको महिमालाई स्पष्ट पार्छ । यसको अर्थ हुन्छ कि पिता नै स्वर्ग हुनुहुन्छ, पिता नै धर्म हुनुहुन्छ र पिता नै जीवनको सर्वश्रेष्ठ तपस्या हुनुहुन्छ । यदि पिता प्रसन्न हुनुभयो भने संसारका सम्पूर्ण देवी–देवताहरू प्रसन्न हुन्छन् । सन्तानको जीवन रूपी रुखलाई आफ्नो पसिना, श्रम र संस्कारले सिञ्चित गरेर फलदायी बनाउन आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गर्ने महान् व्यक्तित्व नै पिता हुनुहुन्छ । पिता केवल एउटा नाता वा शब्द मात्र होइन । उहाँ त कर्तव्य, अनुशासन, त्याग, धैर्य, संरक्षण र असीम मायाको एउटा सिङ्गो पाठशाला हुनुहुन्छ ।
सृष्टिको जग र विशाल ओत
आमाले सन्तानलाई नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्म दिने कष्ट सहनुहुन्छ भने पिताले ती सन्तानलाई जीवनभर आफ्नो काँधमा बोकेर भविष्य उज्यालो बनाउने सङ्घर्ष गर्नुहुन्छ । आमाको माया बगेको खोलाजस्तै प्रत्यक्ष देखिन्छ भने पिताको माया लुकेको महासागरजस्तै गहिरो र विशाल हुन्छ । पिताको माया प्रायः अनुहारमा प्रकट हुँदैन । तर उहाँको हरेक पाइला, हरेक निर्णय र अहोरात्रको कडा परिश्रममा सन्तानप्रतिको अगाध स्नेह छचल्किएको हुन्छ । बालबालिकाका साना–साना खुसी पूरा गर्न आफ्ना ठूला–ठूला सपनाहरूलाई तिलाञ्जली दिने व्यक्ति नै पिता हो । नयाँ कपडा, राम्रो शिक्षा, स्वास्थ्य र मनोरञ्जनका लागि आफ्ना इच्छा र आवश्यकताहरूलाई सधैँ पछाडि धकेल्दै पिताले सन्तानको भविष्यको जग हाल्नुहुन्छ । बाहिर संसारमा जतिसुकै ठूलो आँधीबेहरी आओस्, आर्थिक संकट वा सामाजिक कठिनाइहरू उत्पन्न होऊन्, पिताले ती सबैलाई आफ्नै छातीमा राखेर सन्तानलाई शीतल छाया प्रदान गर्नुहुन्छ ।
कठोर आवरणभित्रको कोमल हृदय
धेरैजसो सन्तानका लागि पिताको छवि अलि गम्भीर, कठोर र अनुशासनप्रिय हुन्छ । तर त्यो कठोरता उहाँको मनको निष्ठुरीपन होइन, बरु सन्तानलाई समाजको गलत मार्गबाट जोगाउने र सही दिशामा डोर्याउने सुरक्षा कवच हो । पिताको स्वभावलाई प्रायः नरिवलको फलसँग तुलना गरिन्छ । नरिवल बाहिरबाट जति कडा, खस्रो र अप्ठ्यारो देखिन्छ, भित्र त्यति नै मीठो, कोमल र अमृततुल्य पानीले भरिएको हुन्छ । पिताको हृदय पनि ठ्याक्कै त्यस्तै हुन्छ । बाहिरबाट उहाँले देखाउनुहुने कडापन सन्तानलाई कठोर दुनियाँसँग लड्न सक्ने बनाउनका लागि दिइएको तालिम हो । उहाँले सन्तानलाई कहिल्यै आफ्ना आँसु देखाउनुहुन्न । दुःख, अभाव र अस्वस्थताका बाबजुद पनि उहाँ घरको ढोकाबाट भित्र छिर्दा अनुहारमा एउटा ढाडस दिने मुस्कान लिएर आउनुहुन्छ । आफ्ना पीडाहरूलाई छातीभित्रै दबाएर सन्तानको अनुहारमा खुसी देख्न पाउनु नै पिताको जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ ।
जीवनको पहिलो शिक्षक र मार्गदर्शक
बालकले पाइला चाल्न सिक्दा समात्ने पहिलो बलियो औँला पिताकै हुन्छ । त्यो पहिलो पाइलादेखि जीवनका जटिल र कठिन मोडहरूसम्म पिताले सधैँ एउटा अनुभवी मार्गदर्शकको भूमिका निर्वाह गर्नुहुन्छ । जीवनमा आउने चुनौतीहरूसँग कसरी सामना गर्ने, सफलतामा कसरी विनम्र रहने, असफलतामा कसरी पुनः उठेर अगाडि बढ्ने र सही र गलतबीचको भेद कसरी छुट्ट्याउने भन्ने व्यावहारिक ज्ञान सन्तानले पिताको जीवनशैली र अनुभवबाट सिक्छ । पिताले आफ्ना सन्तानलाई केवल भौतिक सुख–सुविधा मात्र दिनुहुन्न, उहाँले त चरित्र निर्माणको जग पनि बसाल्नुहुन्छ । इमानदारी, परिश्रम, नैतिक मूल्य–मान्यता, आत्मसम्मान र सामाजिक उत्तरदायित्वजस्ता अमूल्य गुणहरू सन्तानले पिताकै पछाडि उभिएर सिक्छन् । पिताको उपस्थितिले सन्तानलाई दिने साहस र आत्मविश्वास कुनै पनि धन–सम्पत्ति वा भौतिक शक्तिले दिन सक्दैन । जबसम्म पिताको हात टाउकोमा हुन्छ, मानिसले आफूलाई संसारकै सबैभन्दा सुरक्षित र शक्तिशाली महसुस गरिन्छ ।
पितृऋण र सन्तानको परम कर्तव्य
शास्त्रमा तीन प्रकारका ऋणहरूको चर्चा गरिएको छ कि देवऋण, ऋषिऋण र पितृऋण हुन । यीमध्ये पितृऋण यस्तो ऋण हो, जसलाई कुनै पनि भौतिक वस्तु वा धनसम्पत्तिले चुक्ता गर्न सकिँदैन । पिताले हामीलाई दिनुभएको जीवन, दिनुभएको संस्कार र हाम्रा लागि गर्नुभएको त्यागको मूल्य चुकाउन यो जन्म नै अपर्याप्त हुन्छ । तर सन्तानको रूपमा हाम्रो कर्तव्य पितालाई सधैँ उच्च सम्मान दिनु, उहाँको विचार र अनुभवको आदर गर्नु हो । विशेष गरी उहाँको वृद्धावस्थामा उहाँको बलियो लाठी बन्नु प्रत्येक सन्तानको पहिलो धर्म हो । जब पिता उमेरको उत्तराद्र्धमा पुग्नुहुन्छ, उहाँका हातहरू काँप्न थाल्छन्, शरीर कमजोर हुन्छ र उहाँलाई ठूला भौतिक वस्तुहरू भन्दा पनि सन्तानको माया, साथ, समय र मीठो बोलीको खाँचो हुन्छ । बाल्यकालमा जसरी पिताले हाम्रो औँला समातेर बाटो देखाउनुभयो, वृद्धावस्थामा उहाँको हात समातेर माया र सम्मानका साथ सहारा दिनु नै पितृऋणप्रतिको सच्चा कृतज्ञता हो ।
समग्रमा भन्नुपर्दा पिताको महिमा असीम छ । जसलाई शब्दको परिधिभित्र पूर्ण रूपमा बाँध्न सम्भव छैन् । पिता त्यो विशाल वृक्ष हुनुहुन्छ । जसले आफू घाममा डढेर पनि अरूलाई शीतल छाया दिनुहुन्छ । उहाँ त्यो दीप हुनुहुन्छ, जो आफू बलेर अरूको जीवनमा उज्यालो फैलाउँनु हुन्छ । हामी जीवनमा जतिसुकै ठूलो सफलता हासिल गरौँ, जुनसुकै उच्च पदमा पुगौँ, त्यो सबै पिताको त्याग, पसिना र आशीर्वादको जगमा उभिएको हुन्छ । पिता हुनुको अर्थ जीवनमा कहिल्यै पराजित नहुने विश्वास हुनु हो । मूलतः त्यसैले पिताको जीवनकालमै उहाँलाई सम्मान गरौँ, उहाँको योगदानको कदर गरौँ र उहाँको मुहारमा सधैँ खुसी कायम राख्ने प्रण गरौँ । अतः पिताको आशीर्वाद नै संसारको सबैभन्दा ठूलो रक्षाकवच र सफलताको मूल मन्त्र पनि हो ।

