काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज आयोजना हुँदैछ। यसका लागि आज बिहान ७ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ।
सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने तय भएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछि सारिएको थियो।
पार्टीका प्रवक्ता मनिष झाले प्रदेशबाट प्राप्त प्रतिनिधिको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको काम पूरा नभएकाले बन्दसत्र स्थगित गरिएको जानकारी दिए। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रक्रियामा कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी पूरा गर्न समय लागेको उनले बताए।
उनका अनुसार सोमबार साँझ ७ बजेदेखि नै परिचयपत्र वितरण सुरु गरिएको थियो। राति छापिएका परिचयपत्रहरू प्रदेशमार्फत आज बिहानदेखि वितरण भइरहेका छन्। सातै प्रदेश तथा समायोजन र प्रवास समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै स्थानबाट परिचयपत्र वितरणको व्यवस्था गरिएको पार्टीले जनाएको छ।
परिचयपत्र वितरण सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसार बन्दसत्र सञ्चालन हुनेछ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका सदस्य रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफलपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन्।
त्यसपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराई अनुमोदनको प्रक्रिया अघि बढाउनेछन्।
विधान अनुमोदनपछि पार्टी सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथिको छलफल र अनुमोदनपछि उनले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने सम्भावित कार्यतालिका रहेको छ।
त्यसपश्चात् आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ भने निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र निर्वाचन तालिका सार्वजनिक गर्नेछ।
महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो गेष्टहाउस चौरमा सम्पन्न भएको थियो। बन्दसत्रका कार्यक्रम भने उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्।

