पेरिस, फ्रान्स ।
नेपालका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गत २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा फ्रान्सको पेरिसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, १३ सेप्टेम्बरमा पेरिसस्थित ऐतिहासिक Place du Trocadéro et du 11 Novembre मा आयोजित कार्यक्रममा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रमको संयोजन NRNA NCC France ले गरेको थियो। कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधि, फ्रान्समा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा गैरआवासीय नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा पेरिसस्थित नेपाली राजदूतावासका राजदूत सुधीर भट्टराई ले मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली समुदायले मानवीय सहयोग र ऐक्यबद्धताका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली डायस्पोरामा NRNA France ले निर्वाह गर्दै आएको भूमिकाको समेत प्रशंसा गर्नुभयो।
त्यसैगरी, डायस्पोराका बौद्धिक अगुवा, समाजसेवी तथा NRNA France का पूर्वअध्यक्ष निर्मल अर्याल ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विपत्तिको यस कठिन घडीमा प्रभावित परिवारको साथमा उभिन सबै नेपालीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा NRNA France का संस्थापक अध्यक्षको समेत उपस्थिति रहेको थियो। संस्थाकी वरिष्ठ महिला उपाध्यक्ष विष्णुकुमारी तिमिल्सिना ले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार ददि सापकोटा, पत्रकार अनुराधा पौडेल तथा एभिन्युज टेलिभिजनका युरोप सम्पादक दीपक चालिसे लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, गोरखाली समाज फ्रान्स, MONA France, Tamu Samaj France, Newa Guthi France, नेपाली साहित्यिक मञ्च फ्रान्स, स्याङ्जा समाज फ्रान्स, Magar Samaj France, RSP France, INAS France, Maison Culturelle du Népal तथा प्रवासी नेपाली मञ्च लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनमार्फत श्रद्धाञ्जली अर्पण गरे। साथै बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरे।
पेरिसको ऐतिहासिक ट्रोकाडेरोमा सम्पन्न उक्त दीप प्रज्वलन कार्यक्रमले मातृभूमिमा परेको विपत्तिप्रति विदेशमा रहेका नेपाली समुदायको संवेदनशीलता, मानवीय भावना र राष्ट्रिय एकताको भावनालाई प्रतिबिम्बित गरेको थियो।

