काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो। जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए भने आदित्य महतो ३० रनमा अविजित रहे। सैफ हसनले २८ र त्रितराज दासले १८ रनको योगदान दिए।
लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले समान दुई तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पेलम्यानले १५ रन बनाए।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए भने ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।

