जापानमा नेपालको झण्डा फहराए अविरल घिमिरेले, फ्रान्सेली विश्व च्याम्पियनलाई नकआउट गर्दै बने विश्व च्याम्पियन
काठमाडौं । नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपाललाई अर्को ऐतिहासिक सफलता दिलाएका छन्।
जापानको नागोयास्थित करिया हलमा शनिबार भएको Hit Kick Boxing–59th International Sports Kick Boxing Federation World Championship को मुख्य भिडन्तमा घिमिरेले फ्रान्सका तत्कालीन विश्व च्याम्पियन माथन चोइनार्डलाई नकआउट गर्दै विश्व उपाधि आफ्नो नाममा लेखाएका हुन्।
घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमै शक्तिशाली मुक्का प्रहार गर्दै चोइनार्डलाई नकआउट गरे। सन् २०२५ का विश्व च्याम्पियन रहेका चोइनार्डविरुद्धको यो जितलाई घिमिरेको करियरकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
घिमिरेले अहिलेसम्म २९ वटा अन्तर्राष्ट्रिय भिडन्त खेलेका छन्। तीमध्ये २१ खेलमा जित निकाल्दा २० जित नकआउटमार्फत हासिल गरेका छन्।
विश्व उपाधि जितेपछि घिमिरेले हालै रसुवाको भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

