काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले करिब ८ टन राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ।
नेपाली सेनाका आठ वटा ट्रकमार्फत बुधबार राति नै राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको हो। बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री व्यवस्थापन गरी पठाइएको जनाइएको छ।
प्रभावित क्षेत्रमा ५०० थान मच्छरदानी, १ हजार बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर पठाइएको छ।
बाढीका कारण रसुवामा जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री व्यवस्थापन तथा ढुवानीलाई तीव्रता दिइएको हो। गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, अस्थायी आवास तथा अन्य मानवीय सहायता उपलब्ध गराउने कामलाई समेत निरन्तरता दिइने बताइएको छ।

