तोमनाथ उप्रेती
आजभन्दा हजारौँ वर्षअघि मानिससँग शब्द थिएनन्। अक्षर थिएनन्। व्यवस्थित भाषा पनि थिएन। तर भावना थियो। भय थियो। प्रेम थियो। विस्मय थियो। स्मृति थियो। र थियो आफ्नो अनुभूति अर्कोसम्म पुर्याउने तीव्र आकांक्षा।
मानिस बोल्नुअघि पनि संवाद गर्थ्यो। उसले हात उठाउँथ्यो। संकेत गर्थ्यो। वस्तु देखाउँथ्यो। ध्वनि निकाल्थ्यो। चित्र बनाउँथ्यो। मौनताभित्र अर्थ खोज्थ्यो। मानव सभ्यताको प्रारम्भिक इतिहास यही मौन संवादको इतिहास हो।
लेखनको जन्म अक्षरबाट मात्र भएको होइन। यसको बीउ चेतनामा उम्रिएको थियो। मानिसले संसारलाई देख्न थालेपछि त्यसलाई सम्झन पनि थाल्यो। सम्झन थालेपछि अभिव्यक्तिको आवश्यकता जन्मियो। अभिव्यक्तिको यही आवश्यकता क्रमशः संकेतमा बदलियो। संकेत चित्रमा पुग्यो। चित्र प्रतीकमा रूपान्तरित भयो। प्रतीक ध्वनिसँग जोडियो। अन्ततः ध्वनिले अक्षरको आकार लियो।
यस अर्थमा लेखन मानव चेतनाको बाह्य रूप हो। मानिसले आफ्नो मनलाई माटो, ढुंगा, काठ, हाड, छाला र धातुमा उतार्न थालेपछि विचारले शरीर पायो। स्मृतिले स्थायित्व पायो। समयले अभिलेख पायो।
पाषाण युगका गुफाचित्रहरू मानव अभिव्यक्तिको आदिम प्रमाणका रूपमा हेर्न सकिन्छ। मानिसले आफू वरिपरिको संसारलाई चित्रमा उतार्यो। जनावर बनायो। शिकारका दृश्य बनायो। मानव आकृति कोर्यो। सूर्यलाई गोलाकार चिह्नले जनायो। शरीरका अंगलाई तिनकै दृश्य आकृतिबाट संकेत गर्यो।
यी चित्रहरूनमा जीवनको उपयोगितावादी चेतना पनि थियो। सूचना थियो। स्मृति थियो। सामूहिक अनुभव थियो।
चित्रले वस्तुलाई देखायो। प्रतीकले अर्थलाई संकेत गर्यो।यहीँबाट मानव अभिव्यक्तिले अर्को चरण पार गर्यो। प्रत्यक्ष वस्तुको चित्रणबाट अप्रत्यक्ष अर्थको संकेत हुन थाल्यो। रातो झण्डा युद्धको संकेत बन्यो। सेतो झण्डा शान्तिको। वस्तुको उपस्थिति नै सन्देश बन्न थाल्यो।
यो प्रतिकात्मक सञ्चारको प्रारम्भिक शक्ति थियो। शब्द आवश्यक परेन। वस्तुले बोल्यो। रङले अर्थ दियो। संकेतले वाक्यको काम गर्यो।
शब्द र अक्षर जन्मिनुअघि भाषाले लामो चित्रात्मक यात्रा गरिसकेको थियो। चित्रात्मक अभिव्यक्ति मानव चेतनाको भ्रूण अवस्था थियो। त्यसमा विचार पूर्ण रूपमा भाषिक थिएन। तर अर्थको बीउ त्यहाँ थियो।
मानिसले कुनै वस्तुको चित्र बनाउँदा उसले वस्तु मात्र बनाइरहेको थिएन। उसले त्यस वस्तुको मानसिक प्रतिनिधि निर्माण गरिरहेको थियो।यही प्रतिनिधित्व लेखनको आधार बन्यो।
चित्रले वस्तु चिनायो। प्रतीकले अवधारणा चिनायो। ध्वनिमूलक चिह्नले आवाज चिनायो। यसरी दृश्य र श्रव्य संसारबीच एउटा नयाँ पुल निर्माण भयो।लेखन वास्तवमा त्यही पुल हो।मानिसको मुखबाट निस्किएको क्षणिक ध्वनिलाई दृश्य चिह्नमा स्थिर गर्ने क्षमता लेखनले प्राप्त गर्यो। ध्वनि हराउँथ्यो। अक्षर बाँकी रहन्थ्यो। बोली समयसँगै विलीन हुन्थ्यो। लेखनले त्यसलाई स्मृतिमा बाँधिदियो।यसैले लेखन मानव सभ्यताको स्मृतिशास्त्र हो।
उपलब्ध ऐतिहासिक प्रमाणअनुसार मेसोपोटामियामा विकसित सुमेरियन क्यूनिफर्म लेखन विश्वका सबैभन्दा प्राचीन शब्दाक्षर लेखन परम्परामध्ये एक मानिन्छ। यसको सुरुवात ईसापूर्व चौथो सहस्राब्दीको उत्तरार्धतिर भएको मानिन्छ।माटोका पाटीमा कोरिएका ती चिह्नहरू आज हामीलाई सामान्य लाग्न सक्छन्। तर ती चिह्नभित्र एउटा सभ्यताको बौद्धिक क्रान्ति लुकेको थियो।माटो स्मृतिको माध्यम बन्यो।चिह्न भाषा बन्यो।र लेखन सभ्यताको संरचना बन्यो।सुमेरियन लेखनले शब्दलाई दृश्य चिह्नमा बाँध्ने परम्परालाई बलियो बनायो। त्यसबाट प्रशासनिक अभिलेख बने। व्यापारिक विवरण बने। धार्मिक सामग्री लेखिए। राजकीय सूचना सुरक्षित भए। यसरी लेखन केवल भावनाको माध्यम रहेन। यो राज्य सञ्चालनको उपकरण पनि बन्यो।सभ्यता जति जटिल हुँदै गयो, लेखनको आवश्यकता पनि त्यति नै बढ्दै गयो।मेसोपोटामियासँगै मिश्र र अन्य प्राचीन सभ्यताहरूमा पनि विभिन्न लेखन परम्पराको विकास भयो। मिश्रमा चित्रात्मक र प्रतीकात्मक प्रकृतिको हाइरोग्लिफिक परम्परा विकसित भयो। यी प्रणालीहरूले दृश्य आकृति र अर्थबीच गहिरो सम्बन्ध स्थापित गरे।
लेखनका यी प्रारम्भिक रूपहरू एउटै बाटोबाट विकसित भएका थिएनन्। भूगोल फरक थियो। संस्कृति फरक थियो। समय फरक थियो। तर मानवीय आवश्यकता एउटै थियो।स्मृतिलाई जोगाउनु।विचारलाई बाँड्नु।समयलाई जित्नु।
भारतीय उपमहाद्वीपमा सिन्धु सभ्यताको लेखन परम्परा पनि प्राचीन विश्वको महत्वपूर्ण अध्याय हो। ईसापूर्व तेस्रो सहस्राब्दीमा प्रयोग भएका चिह्नहरू आजसम्म पूर्ण रूपमा पढ्न सकिएका छैनन्।यही मौनताले इतिहासलाई अझ रहस्यमय बनाएको छ।हामीसँग चिह्न छन्। तर तिनको निश्चित अर्थ छैन। अभिलेख छन्। तर तिनको सम्पूर्ण आवाज सुनिएको छैन।सिन्धु लिपिको यही अपठित अवस्था मानव इतिहासको एउटा ठूलो बौद्धिक चुनौती हो। लेखनको जन्म भयो। तर त्यसको भाषा अझै मौन छ।यसले एउटा दार्शनिक प्रश्न जन्माउँछ।के लेखिएको सबै कुरा पढ्न सकिन्छ?सायद सकिँदैन।मानव सभ्यताले धेरै कुरा लेख्यो। समयले धेरै कुरा मेट्यो। केही अभिलेख बाँचे। केही अर्थ हराए। केही अक्षर बाँचे। तर तिनको आत्मा हरायो।त्यसैले इतिहास अनुपस्थित प्रमाणको कथा पनि हो।
चिनियाँ लेखन परम्परा पनि प्राचीन विश्वको महत्वपूर्ण उपलब्धि हो। यसले चित्रात्मक र अर्थसूचक परम्परालाई दीर्घकालीन सांस्कृतिक निरन्तरता दिएको देखिन्छ।चिह्नहरू अर्थका वाहक पनि बने। यसले लेखनलाई सांस्कृतिक स्मृतिको शक्तिशाली माध्यम बनायो।चीनमा लेखन सभ्यताको पहिचान बन्यो। इतिहास बन्यो। दर्शन बन्यो। साहित्य बन्यो।अक्षरहरू पुस्ताबाट पुस्तामा सर्दै गए। त्यससँगै सभ्यताको आत्मा पनि सर्दै गयो।यही कारण लेखन संस्कृति हो। पहिचान हो। स्मृति हो। सत्ता हो। प्रतिरोध हो। र कहिलेकाहीँ मुक्ति पनि हो।
लेखन विकासको सबैभन्दा महत्वपूर्ण मोड चित्रबाट ध्वनितर्फको संक्रमण थियो।चित्रले वस्तु देखाउँथ्यो। ध्वनिमूलक चिह्नले शब्दको उच्चारणलाई प्रतिनिधित्व गर्न थाल्यो।यही परिवर्तनले लेखनलाई अभूतपूर्व सम्भावना दियो।अब कुनै वस्तुको चित्र बनाउनैपर्ने बाध्यता रहेन। त्यसको नाममा प्रयोग हुने ध्वनिलाई चिह्नद्वारा प्रस्तुत गर्न सकिने भयो।ध्वनि दृश्य बन्न थाल्यो।अदृश्य आवाज अक्षरमा रूपान्तरित भयो।
भारतीय उपमहाद्वीपमा ब्राह्मी लिपिको विकास लेखन इतिहासको अर्को महत्वपूर्ण चरण हो। अशोककालीन अभिलेखहरूमा यसको विकसित रूप देखिन्छ। तर यसको उत्पत्तिबारे विद्वानहरूबीच विभिन्न मत पाइन्छ।यहीँ इतिहासको रोचकता छ। प्रमाण भेटिन्छ। प्रश्न पनि बाँकी रहन्छ।
ब्राह्मीबाट विभिन्न क्षेत्रीय लिपिहरू विकसित हुँदै गए। नेपालको सन्दर्भमा पनि यसको प्रभाव दीर्घकालीन रह्यो। लिच्छवि कालमा प्रयोग भएका लिपिहरू हुँदै मध्यकालीन चरणमा नेवारी लगायतका रूपहरू विकसित भए। पछि देवनागरीको प्रयोग व्यापक हुँदै गयो।
आज नेपाली भाषा देवनागरीमा लेखिन्छ। तर देवनागरी हजारौँ वर्ष लामो मानवीय लेखनयात्राको एउटा वर्तमान चरण हो। आज हामी ‘क’ लेख्छौँ। त्यो एउटा अक्षर मात्र हो। तर त्यसको पछाडि चिह्नहरूको लामो विकासक्रम छ। ध्वनिको इतिहास छ। सभ्यताको इतिहास छ। स्मृतिको इतिहास छ।
विश्वमा प्राचीन लेखनका विभिन्न प्रणालीहरू विकसित भए। मेसोपोटामियाको क्यूनिफर्म। मिश्रको हाइरोग्लिफ। सिन्धुका चिह्न। चिनियाँ लेखन। क्रेटान परम्परा। हिट्टाइट लेखन। एलमाइट प्रणाली। यी सबैले मानव जातिलाई फरक बाटोबाट लेखनको संसारमा प्रवेश गराए।कुनै प्रणाली आज पढ्न सकिन्छ। कुनै अझै रहस्य छन्।तर सबैले एउटै मानवीय आकांक्षा बोकेका थिए।‘म जे देख्दैछु, त्यो हराउनु हुँदैन।’‘म जे सम्झिरहेको छु, त्यो मसँगै मर्नु हुँदैन।’‘मैले जे भन्न खोजेको छु, त्यो अर्को पुस्ताले पनि बुझोस्।’यही आकांक्षाले लेखन जन्मायो।
मानवले सुरुमा गुफाको भित्तामा चित्र बनायो। पछि माटोमा चिह्न कोर्यो। ढुंगामा अभिलेख राख्यो। धातुमा अक्षर कुँद्यौ। कागजमा लेख्यो। मुद्रणयन्त्र निर्माण गर्यो। टाइपराइटर चलायो। कम्प्युटरमा प्रवेश गर्यो। अब डिजिटल पर्दामा अक्षर देखिन्छ।माध्यम फेरिएको छ।मानवीय आकांक्षा फेरिएको छैन।आज एउटा सन्देश सेकेन्डमै हजारौँ किलोमिटर पार गर्छ। आवाज संसारको अर्को कुनामा पुग्छ। चित्र तत्काल साझा हुन्छ। अक्षर बादलमा सुरक्षित हुन्छ। डिजिटल अभिलेखले स्मृतिलाई नयाँ आयाम दिएको छ।तर प्रश्न अझै उही छ।
मानिस किन लेख्छ?किनकि मानिस नश्वर छ। तर उसको अर्थ नश्वर हुन चाहँदैन।शरीर समाप्त हुन्छ। विचार रहन सक्छ।आवाज हराउँछ। शब्द रहन सक्छ।मानिस जान्छ। लेखन बाँकी रहन्छ।यस अर्थमा अक्षर मानवको दोस्रो जीवन हो।
लेखनको यात्रा अझै रोकिएको छैन।चित्रबाट प्रतीक। प्रतीकबाट शब्द। शब्दबाट अक्षर। अक्षरबाट वर्ण। वर्णबाट डिजिटल कोड। अब वर्णभन्दा पनि सूक्ष्म इकाइतर्फ मानव चेतनाको खोज अघि बढिरहेको छ। गुफाको भित्तामा जनावर कोर्ने मानिसले आज कृत्रिम बुद्धिमत्ता निर्माण गरेको छ। हिजो ढुंगामा चिह्न कुँद्ने हात आज अदृश्य डिजिटल संरचनामा सूचना लेखिरहेको छ।
तर मूल प्रश्न उही छ।अर्थ कसरी निर्माण हुन्छ?भावना कसरी सम्प्रेषित हुन्छ?चेतना कसरी अर्को चेतनासम्म पुग्छ?शायद लेखनको अन्तिम सीमा अझै भेटिएको छैन।किनकि मानव चेतना स्वयं अधुरो यात्रा हो।

