काठमाडौँ ।
नेपालले पछिल्लो अवधिमा भारत र बङ्गलादेशतर्फ ठूलो परिमाणमा विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरिएको हो।
प्राधिकरणका अनुसार द्विपक्षीय सम्झौता तथा विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत भारत र बङ्गलादेशमा विद्युत् बिक्री गरिएको हो। द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरी रु. ३ अर्ब ६४ करोडभन्दा बढी आम्दानी भएको छ।
त्यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरिएको र त्यसबाट रु. १ अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, भोटेकोशी बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात हाल रोकिएको प्राधिकरणले जनाएको छ।
विद्युत् उत्पादन तथा प्रसारण संरचनामा प्राकृतिक विपत्तिका कारण क्षति पुगे पनि नेपालले भारततर्फको विद्युत् निर्यातमार्फत ऊर्जा व्यापारलाई निरन्तरता दिइरहेको छ। पछिल्लो समय विद्युत् निर्यात नेपालका लागि विदेशी मुद्रा आर्जन तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारको महत्वपूर्ण माध्यम बन्दै गएको छ।

