तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
बिहानको शान्त समयमा म एक्लै हिँडिरहेको थिएँ। पूर्वबाट सूर्य उदाउँदै थियो। रातको अँध्यारो विस्तारै हट्दै थियो। चराहरूको आवाजले वातावरणलाई जीवन्त बनाइरहेको थियो। त्यो दृश्य हेर्दै गर्दा मेरो मनमा एउटा प्रश्न उठ्यो मानिसको जीवनमा यति धेरै अशान्ति किन छ? विज्ञानले संसारलाई नजिक ल्याएको छ। प्रविधिले जीवनलाई सहज बनाएको छ। आर्थिक विकासले भौतिक सुविधा बढाएको छ। तर मानिसको मन अझै भय, लोभ, क्रोध, मोह र असन्तोषले ग्रसित छ। त्यही प्रश्नको उत्तर खोज्दै मेरो मन कुरुक्षेत्र पुग्यो। अर्जुन त्यहाँ उभिएका थिए। हातमा धनुष थियो। तर मनमा द्वन्द्व थियो। आफ्नै बन्धु–बान्धवलाई अगाडि देखेपछि उनको कर्तव्यबोध कमजोर भएको थियो। त्यस क्षण श्रीकृष्णले दिएको उपदेश मानव मनको शाश्वत द्वन्द्वका लागि थियो। मैले अनुभव गरेँ, अर्जुन हाम्रो बाहिरी इतिहासका पात्र मात्र होइनन्। उनी हामीभित्र पनि छन्। हरेक कठिन निर्णयमा हाम्रो मन अर्जुनझैँ द्वन्द्वग्रस्त हुन्छ। त्यही क्षण विवेक बनेर श्रीकृष्णको चेतना हाम्रो अन्तरात्मामा बोल्न थाल्छ।
मेरो यात्रा अगाडि बढ्यो। श्रीकृष्णले अर्जुनलाई आत्माको नित्य स्वरूपबारे सम्झाएको वचन मेरो मनमा गुञ्जियो—“न जायते म्रियते वा कदाचिन्… न हन्यते हन्यमाने शरीरे।” आत्मा न जन्मिन्छ, न मर्छ। शरीर परिवर्तनशील छ। आत्मा नित्य छ। यो विचारलाई गहिरोसँग बुझ्दा जीवनप्रतिको हाम्रो दृष्टिकोण बदलिन्छ। हामी धन, पद, प्रतिष्ठा, सम्पत्ति र सम्बन्धलाई स्थायी ठान्छौँ। तर ती सबै समयको प्रवाहमा परिवर्तनशील छन्। हिजो अरूको थियो। आज हाम्रो छ। भोलि फेरि अरूकै हुनेछ। त्यसैले गीता मलाई स्वामित्वभन्दा उत्तरदायित्वको बोध गराउँछ। अनित्य वस्तुप्रतिको अत्यधिक आसक्ति दुःखको कारण बन्न सक्छ। आत्मज्ञानले मानिसलाई यही आसक्तिबाट क्रमशः मुक्त गराउँछ। मृत्युको भय कम हुन्छ। हानिको चिन्ता घट्छ। लोभ कमजोर हुन्छ। मानिस आफ्नो सीमित स्वार्थबाट माथि उठेर व्यापक हिततर्फ उन्मुख हुन्छ। यही आत्मबोध विश्वकल्याणको पहिलो आधार हो।
हिँड्दै गर्दा मेरो मन गीता २.४७ तर्फ गयो—“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” कर्ममा हाम्रो अधिकार छ। फलमा होइन। यस शिक्षाको अर्थ परिणामको वास्ता नगर्नु होइन। यसको मूल आशय फलप्रतिको आसक्तिले कर्मको नैतिकता नष्ट गर्न नदिनु हो। कर्मयोगले निष्क्रियता होइन, जिम्मेवार सक्रियता सिकाउँछ। मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ। सार्वजनिक प्रशासनमा यसको महत्त्व अझ गहिरो छ। प्रशासकको निर्णय व्यक्तिगत लाभ, पदोन्नति, प्रशंसा वा राजनीतिक दबाबबाट निर्देशित हुनु हुँदैन। उसको निर्णय कानुन, न्याय, जनहित र संस्थागत मूल्यबाट निर्देशित हुनुपर्छ। कार्यालय पनि एउटा प्रकारको आधुनिक कुरुक्षेत्र हो। त्यहाँ शक्ति, स्वार्थ, दबाब र प्रलोभन हुन्छन्। तर त्यहीँ कर्तव्य, विधि, नैतिकता र जनविश्वास पनि हुन्छ। त्यसैले कर्मयोगको आत्मसात् गर्ने प्रशासकले आफ्नो पदलाई अधिकारको स्रोतभन्दा सेवाको जिम्मेवारीका रूपमा बुझ्छ। उसले कर्मलाई पूजा ठान्छ। परिणामलाई स्वीकार गर्छ। तर कर्मको शुद्धतामा सम्झौता गर्दैन।
यात्राको अर्को चरणमा मैले मानव मनको प्रकृतिबारे सोच्न थालेँ। गीता भन्छ “ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते। सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते।” विषयको निरन्तर चिन्तनबाट आसक्ति जन्मिन्छ। आसक्तिबाट कामना उत्पन्न हुन्छ। कामनाबाट क्रोध जन्मिन्छ। क्रोधले विवेकलाई कमजोर बनाउँछ। विवेक कमजोर भएपछि स्मृति भ्रमित हुन्छ। अन्ततः बुद्धिको पतन हुन्छ। मैले बुझें,मानिसको पतन अचानक हुँदैन। त्यसको सुरुवात प्रायः सानो आसक्तिबाट हुन्छ। सानो लोभले ठूलो भ्रष्टाचारको रूप लिन सक्छ। सानो अहंकारले ठूलो द्वन्द्व जन्माउन सक्छ। सानो असन्तोषले हिंसाको रूप लिन सक्छ। त्यसैले आत्मसंयम आध्यात्मिक साधना मात्र होइन। यो सामाजिक नैतिकताको आधार पनि हो। जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छ, उसले शक्ति पाएर पनि दुरुपयोग गर्दैन। जसले आफ्नो इच्छामाथि शासन गर्न सक्छ, उसले अरूमाथि अन्यायपूर्ण शासन गर्न खोज्दैन। व्यक्तिगत संयमबाट सामाजिक सदाचारको निर्माण हुन्छ।
त्यसपछि मेरो मन समदृष्टितर्फ आकर्षित भयो। श्रीकृष्णको दर्शनमा सुख र दुःख, लाभ र हानि, जय र पराजयबीच समभाव राख्नु उच्च चेतनाको लक्षण हो। समत्वको अर्थ भावना समाप्त गर्नु होइन। यसको अर्थ भावनाले विवेकलाई नियन्त्रण गर्न नदिनु हो। विश्वशान्तिको सन्दर्भमा यसको महत्त्व अत्यन्त ठूलो छ। मानिसले अरूलाई आफूभन्दा पृथक् र निम्न ठान्दा विभाजन जन्मिन्छ। जाति, वर्ग, भाषा, भूगोल, धर्म, राष्ट्र र विचारका आधारमा श्रेष्ठता खोज्दा द्वन्द्व बढ्छ। तर समदृष्टिले प्रत्येक मानिसमा समान मानवीय गरिमा देख्छ। करुणा र मैत्रीभाव त्यहीँबाट जन्मिन्छ। श्रीकृष्णले भक्तको लक्षण बताउँदै “अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च” भनेका छन्। सबै प्राणीप्रति द्वेषरहित हुनु। मैत्रीपूर्ण हुनु। करुणामय हुनु। यदि विश्वका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धहरू यिनै मूल्यबाट निर्देशित भए भने शान्ति केवल सम्झौताको विषय रहँदैन। शान्ति मानव व्यवहारको संस्कार बन्न सक्छ।
म अब ज्ञानयोगको अर्थतर्फ पुगेँ। वास्तविक ज्ञान भनेको आफूलाई चिन्नु हो। अनित्य र नित्यबीचको भेद बुझ्नु हो। आफ्नो अहंकारको सीमालाई चिन्नु हो। आफ्नो कर्मको परिणामप्रति जिम्मेवार हुनु हो। आत्मज्ञानले मानिसलाई भ्रमबाट मुक्त गर्छ। जसरी उदाउँदो सूर्यले रातको अन्धकार हटाउँछ, त्यसरी नै ज्ञानले अज्ञानको अन्धकार हटाउँछ। तर साँचो ज्ञानले मानिसलाई अहंकारी बनाउँदैन। यसले विनम्र बनाउँछ। करुणामय बनाउँछ। जिम्मेवार बनाउँछ। सार्वजनिक प्रशासनमा ज्ञानयोगको अर्थ तथ्यमा आधारित निर्णय, विवेकपूर्ण नीति, कानुनी चेतना र दीर्घकालीन जनहितको दृष्टि हो। ज्ञानविहीन शक्ति खतरनाक हुन सक्छ। तर ज्ञानसँग जोडिएको शक्ति समाज रूपान्तरणको साधन बन्न सक्छ। त्यसैले प्रशासकका लागि ज्ञान केवल व्यावसायिक क्षमता होइन। त्यो नैतिक उत्तरदायित्व पनि हो।
भक्तियोगको अर्थमा पुग्दा मेरो यात्रा अझ भित्री भयो। भक्ति धार्मिक कर्मकाण्ड होइन। भक्ति अहंकारको विसर्जन हो। आफूभन्दा उच्च सत्यलाई स्वीकार गर्नु हो। आफ्नो कर्मलाई व्यापक उद्देश्यमा समर्पित गर्नु हो। जब मानिस आफूलाई मात्र केन्द्रमा राख्छ, स्वार्थ बढ्छ। जब उसले आफूलाई व्यापक अस्तित्वको एउटा अंश ठान्छ, सेवा र करुणा जन्मिन्छ। यही भावले व्यक्ति र समाजबीचको सम्बन्धलाई मानवीय बनाउँछ। गीता–दर्शनमा परमात्मा सर्वत्र व्याप्त चेतनाका रूपमा अनुभूत हुन्छन्। त्यसैले अरूलाई सम्मान गर्नु पनि आध्यात्मिक अभ्यास हो। कमजोरलाई सहयोग गर्नु पनि भक्ति हो। अन्यायविरुद्ध उभिनु पनि धर्म हो। सार्वजनिक स्रोतको दुरुपयोग नगर्नु पनि पूजा हो। आफ्नो जिम्मेवारीलाई जनसेवाका रूपमा ग्रहण गर्नु पनि साधना हो। यस अर्थमा भक्तियोग प्रशासनिक जीवनबाट अलग विषय होइन। यसले प्रशासनिक कर्मलाई सेवाभावसँग जोड्छ।
मेरो मन फेरि श्रीकृष्णको उद्घोषतर्फ फर्कियो “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत…” जब धर्मको ह्रास हुन्छ र अधर्मको वृद्धि हुन्छ, तब धर्मको पुनःस्थापनाका लागि दिव्य शक्ति प्रकट हुन्छ। यस वचनलाई केवल ऐतिहासिक अवतारको सन्दर्भमा हेर्नुभन्दा यसको नैतिक अर्थ पनि बुझ्न आवश्यक छ। जहाँ अन्याय बढ्छ, त्यहाँ न्यायको चेतना जाग्नुपर्छ। जहाँ भ्रष्टाचार बढ्छ, त्यहाँ नैतिक प्रतिरोध आवश्यक हुन्छ। जहाँ हिंसा बढ्छ, त्यहाँ करुणा र विवेक सक्रिय हुनुपर्छ। जहाँ निराशा हुन्छ, त्यहाँ आशाको पुनर्जागरण आवश्यक हुन्छ। धर्मको पुनःस्थापना बाह्य शक्तिको प्रतीक्षा होइन। मानिसभित्रको विवेक जागृत हुनु पनि धर्मको पुनःस्थापना हो। त्यसैले आजको विश्वमा श्रीकृष्णको सन्देशको अर्थ अझ व्यापक हुन्छ। शासनमा पारदर्शिता, प्रशासनमा निष्पक्षता, राजनीतिमा नैतिकता, अर्थतन्त्रमा न्याय र समाजमा करुणा यी सबै आधुनिक धर्मका व्यावहारिक अभिव्यक्ति हुन्।
अब मेरो यात्रा अन्तिम बिन्दुतर्फ आइपुग्दै थियो। सूर्य माथि आइसकेको थियो। मैले पछाडि फर्केर हेरेँ। बाटो उही थियो। तर मेरो दृष्टि बदलिएको थियो। मैले बुझें—विश्वकल्याण कुनै टाढाको आदर्श होइन। त्यो व्यक्तिको चेतनाबाट सुरु हुन्छ। आत्मज्ञानले भय र मोह घटाउँछ। कर्मयोगले कर्तव्यप्रति प्रतिबद्ध बनाउँछ। भक्तियोगले अहंकारलाई शुद्ध गर्छ। समदृष्टिले विभाजन हटाउँछ। ज्ञानले विवेक दिन्छ। यी सबै मिलेर नैतिक जीवनको आधार तयार हुन्छ।
श्रीकृष्णको युगान्तकारी चिन्तनलाई तीन प्रमुख स्तम्भमा बुझ्न सकिन्छ—आन्तरिक शान्तिका लागि आत्मज्ञान, सामाजिक सद्भावका लागि समदृष्टि र सार्वभौमिक कल्याणका लागि निष्काम कर्मयोग। यसको अन्तिम लक्ष्य केवल व्यक्तिको मोक्ष होइन। व्यक्तिको रूपान्तरणमार्फत समाज र विश्वको नैतिक रूपान्तरण पनि हो। सार्वजनिक प्रशासकका लागि यसको सन्देश अझ स्पष्ट छ—पदलाई प्रतिष्ठा होइन, जिम्मेवारी ठान। शक्तिलाई स्वार्थ होइन, सेवाको माध्यम बनाऊ। निर्णयलाई व्यक्तिगत रुचि होइन, जनहितसँग जोड। कर्म गर। आसक्ति त्याग। विवेक कायम राख। र आफ्नो प्रत्येक कार्यलाई व्यापक मानवकल्याणसँग जोड। त्यसपछि मैले महसुस गरेँ,कुरुक्षेत्र हरेक मानिसको अन्तरात्मामा चलिरहेको संघर्ष हो। अर्जुन हाम्रो द्वन्द्व हो। कृष्ण हाम्रो विवेक हो। गीता हाम्रो मार्गदर्शन हो। र विश्वकल्याणको यात्रा बाहिरबाट होइन, आफैँबाट सुरु हुन्छ। आत्मज्ञानले आफूलाई बदल्छ, निष्काम कर्मले समाजलाई बदल्छ, भक्तिले हृदयलाई शुद्ध गर्छ र समदृष्टिले मानवतालाई जोड्छ। यही श्रीकृष्णको युगान्तकारी चिन्तनको विश्वकल्याणकारी सार हो।

