काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
गृहमन्त्री गुरुङ करिब डेढ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि उनले गत वैशाख ८ गते पदबाट राजीनामा दिएका थिए।
त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले गुरुङलाई उक्त प्रकरणमा ‘क्लिनचिट’ दिएपछि प्रधानमन्त्री शाहले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्।
यता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका महावीर पुन स्वतन्त्र सांसद हुन्। उनी म्याग्दीबाट निर्वाचित भएका हुन् ।
पुन यसअघि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा थिए। आफूले अघि सारेका विधेयकहरू संसद्मा प्रस्तुत गर्न नपाएको भन्दै उनले त्यतिबेला मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी निर्वाचनमा सहभागी भई प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

