काठमाडौं ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री वालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका थिए। महासभाको उच्चस्तरीय सत्रका क्रममा उनले नेपालको तर्फबाट सम्बोधन गर्दै जलवायु परिवर्तन, जलवायु न्याय तथा नेपालले भोगिरहेको हिमाली क्षेत्रको जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित ब्रिफिङ तथा औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए।
प्रधानमन्त्री शाहको भ्रमणलाई नेपालले जलवायु संकट, जलवायु न्याय र हिमाली क्षेत्रका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरका रूपमा प्रयोग गरेको बताइएको छ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाह असोज १० गते अर्थात् सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।

