काठमाडौं ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो।
ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
नेपालको जितमा तीन ब्याटरले अर्धशतकीय पारी खेले। रोहितकुमार पौडेलले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६९ रन जोडे भने देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रनको योगदान दिए। त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए।
ओमानका साह फैसलले पाँच विकेट लिए।
२८१ रनको लक्ष्य पछ्याएको ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए। त्यस्तै, हसनैन साह ४० रनमा अविजित रहे। हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे।
यस जितसँगै नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्कतालिकामा छैटौँ स्थानमा उक्लिएको छ। जारी संस्करणमा ३६ खेल खेलेको नेपालले १४ खेलमा जित, २० खेलमा हार र दुई खेलमा अङ्क बाँड्दै कुल ३० अङ्क जोडेको छ।

