काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा ५ हजार ८ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार मात्रै सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले उकालो लागेको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५५ रुपैयाँले सस्तिँदै ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो। महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तर गत माघ १५ गते कायम भएको थियो। त्यसदिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि सोही अवधिमा ऐतिहासिक उचाइमा पुगेको थियो। गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको चाँदी तीन दिनपछि अर्थात् माघ १८ गते एकै दिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।

