काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआर राइफलका ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ४३ वर्षीय विकास महर्जन रहेका छन्। उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–१, नक्साल ज्यापुटोल भए पनि उनी जोरपाटीमा डेरा गरी बस्दै आएका थिए।
प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशंकामा महर्जनको डेरा खानतलासी गरेको थियो। सोही क्रममा एसएलआर राइफलका ६ राउन्ड गोली फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महर्जनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

