काठमाडौँ । देशभर मनसुनी प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानसँगै मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थान, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुने सम्भावना छ भने मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
काठमाडौँ उपत्यकामा अपराह्न र राति पनि वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा केही दिनयता वर्षा जारी रहेको छ। सोमबार बिहान खुमलटारलगायत क्षेत्रमा हल्का वर्षा भएको जानकारी दिँदै मौसमविद् बिनु महर्जनले वर्षा केही समयका लागि कम भए पनि अपराह्नतिर पुनः हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइन्। उनका अनुसार रातिको समयमा पनि उपत्यकामा वर्षाको सम्भावना रहेको छ।
वर्षाको तीव्रता कसरी वर्गीकरण गरिन्छ?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिनेछ।
‘एक–दुई स्थान’, ‘केही स्थान’ र ‘धेरै स्थान’ भन्नाले के बुझिन्छ?
महाशाखाका अनुसार ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभाग, ‘थोरै स्थान’ भन्नाले १० देखि ३० प्रतिशत, ‘केही स्थान’ भन्नाले ३० देखि ५० प्रतिशत र ‘धेरै स्थान’ भन्नाले ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावनालाई जनाउँछ। ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने पूर्वानुमान गरिन्छ ।

