काठमाडौं । सरकारले मुगुका युवा गणेश नेपालीको मृत्यु प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्।
मन्त्रिपरिषद्ले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ।
मुगुका युवा गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको मृत्यु प्रकरणपछि घटनाको निष्पक्ष छानबिनको माग उठ्दै आएको थियो।

