काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको जानकारी दिए। उनले प्रश्नपत्र सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ गृहमन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको बताए।
यस्ता घटना विगतमा पनि दोहोरिँदै आएको उल्लेख गर्दै मन्त्री पोखरेलले यसपटक भने तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।
सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने उनको भनाइ छ।
उनले घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने पनि बताए।
उता, प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहाबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

