काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले केजीएच ग्रुपअन्तर्गत काठमाडौंस्थित माया मनोर बुटिक होटल तथा पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा उपलब्ध विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिनेछ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले ग्राहकलाई लक्षित गर्दै आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘अटो लोन’ समेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार उक्त योजनामार्फत ग्राहकले सवारीसाधन खरिदका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

